फुटबलका राष्ट्रिय पूर्व खेलाडी गम्भीर राई रहेनन्

झापा । फुटबलका राष्ट्रिय पूर्व खेलाडी गम्भीर राईको हृदयघातको कारण निधन भएको छ ।

झापाको भद्रपुर १० चन्द्रगढी बजार निवासी ५६ वर्षीय राईको उपचारको क्रममा विर्तामोडस्थित बीएण्डसी हस्पिटलमा हिजो बेलुका निधन भएको हो । उनी केही दिनदेखि बिरामी थिए । उनले लामो समयदेखि मधुमेह रोगको औषधि सेवन गरिरहेकोे पारिवारिक स्रोतले जनाएको छ ।

२०२५ साल फागुन ५ गते जन्मिएका राई यु १६, यु १९ र नेपाल युथ फुटबल टिमको सदस्य थिए भने एनआरटी, जनकपुर चुरोट कारखाना र मनाङ मर्स्याङ्दीजस्ता चर्चित क्लबमा आबद्ध रही राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेलहरुमा सहभागी भएका थिए ।

झापा जिल्ला फुटबल संघको उपाध्यक्ष र सदस्य पदको जिम्मेवारी सम्हालिसकेका राईले २०५६ सालमा फुटबल खेलबाट सन्यास लिएका थिए ।

फुटबल खेलको सुदृढीकरण र विकासमा महत्त्वपूर्ण योगदान पुर्याएकोमा झापा गोल्डकपले २०७५ फागुन २५ गते र भद्रपुर झापा गोल्डकपले २०७९ फागुन १७ गते उनलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरेका थिए ।
०४२ सालदेखि विद्यालयस्तरीय फुटबल प्रतियोगिताबाट यस क्षेत्रमा लागेका राईले नेपालको विभिन्न ए डिभिजन क्लबमा आवद्ध रही धेरै प्रतियोगिता खेलेका थिए । उनले स्थानीय क्लब मुनाल एफसीको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका थिए भने भद्रपुर झापा गोल्डकपको युवा टिमको प्रशिक्षक थिए । उनी भद्रपुर झापा गोल्डकपको कार्यसमिति सदस्य पनि थिए ।

उनले २०५२ सालमा न्युरोड टिम (एनआरटी)मा आवद्ध भएपछि मालदिभ्समा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । त्यस्तै, २०५३ सालमा यु १९ को उमेर समूहबाट थाइल्यान्डमा भएको प्रतियोगितामा सहभागिता जनाएर अन्तर्राष्ट्रिय तीन गोल गरेका थिए । २०७५ फागुनमा भारतको उडिसामा सम्पन्न हिरो कपमा नेपाली महिला फुटबल टिमको व्यवस्थापकको जिम्मेवारी सम्हालेका राई मुनाल क्लबका प्रशिक्षक थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *