नेपाल जेसीजको ५३ औँ महाधिवेशनको औपचारिक लोगो सार्वजनिक

झापा । आगामी पुस ८ देखि १० गतेसम्म झापाको सदरमुकाम भद्रपुरमा आयोजना हुने नेपाल जेसीजको ५३ औँ रोष्ट्रिय सम्मेलन तथा महाधिवेशनको औपचारिक लोगो आज सार्वजनिक गरिएको छ ।

महाधिवेशनको आतिथ्यता गर्ने अवसर प्राप्त गरेको भद्रपुर जेसीजले राष्ट्रिय सम्मेलन तथा महाधिवेशनको तयारी बारे जानकारी दिने उद्देश्यले भद्रपुर–८ स्थित प्रेस क्लव भद्रपुरको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनका बीच लोगो सार्वजनिक गरिएको हो ।

महाधिवेशन मूल आयोजक समितिका निर्देशक भद्रपुर जेसीजका पूर्व अध्यक्ष वसन्त पोखरेलको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख एवम् भद्रपुर जेसीजका पूर्व अध्यक्ष गणेश पोखरेल, उपप्रमुख राधा कार्की, भद्रपुरका उद्योगी एवम् भद्रपुर जेसीजका मानार्थ सदस्य दिपककुमार पोखरेल, नेपाल जेसीजका कार्यकारी उपाध्यक्ष योगेश राजवंशी, भद्रपुर जेसीज वर्ष २०२६ का अध्यक्ष सुरेन्द्र बहादुर खड्का (हिमाल)–ले संयुक्त रुपमा लोगो सार्वजनिक गरेका थिए ।

महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक तथा भद्रपुर जेसीजका पूर्व अध्यक्ष अभिषेक ढुंगानाले सञ्चालन गरेको पत्रकार सम्मेलनमा महाधिवेशनको तयारी बारे पनि जानकारी गराइएको थियो ।

निर्देशक पोखरेलका अनुसार भद्रपुरमा पहिलो पटक हुन लागेको नेपाल जेसीजको ५३ औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशनमा देशभरिका करिब २०० शाखाबाट प्रतिशाखा ७ जना प्रतिनिधि र ५ जना पर्यवेक्षक गरी करिब ३२ सयजनाको सहभागिता रहनेछ । तीमध्ये १९ सय जनाको आवासहितको सहभागिता रहनेछ । तीनदिवसीय सो समारोह भद्रपुर–८ स्थित मेची रंगशालामा हुनेछ ।

राष्ट्रिय सम्मेलनमा साधारणसभा, नयाँ नेतृत्व चयनका लागि निर्वाचन, आगामी वर्षको कार्ययोजना प्रस्तुति, चालु वर्षको आय–व्यय विवरण प्रस्तुति र छलफल, आगामी वर्षको बजेट निर्धारणलगायतका मुख्य कार्यक्रमका साथै प्रशिक्षणमूलक कार्यक्रम, प्यानल डिस्कसन, राष्ट्रिय अध्यक्षका आकांक्षीहरुबीच ककस कार्यक्रम हुनेछ । सम्मेलनकै बीच झापा तथा आतिथ्य नगरपालिका भद्रपुको परिचय एवम् आगन्तुकहरुलाई ती स्थलसम्म पुर्याउने गरी तयारी गरिएको निर्देशक पोखरेलले जानकारी दिए ।

महाधिवेशनस्थलमा सहभागीहरुका लागि विभिन्न सुविधा उपलब्ध गराइने मूल आयोजक समितिका कोषाध्यक्ष तथा भद्रपुर जेसीजका पूर्व अध्यक्ष अनुज खतिवडाले जानकारी दिए । उनले महाधिवेशन सम्पन्न गर्न करिब २ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको पनि जानकारी दिए ।
खर्चको व्यवस्थापन सहभागीहरुको रजिष्ट्रेशन शुल्क, विज्ञापन, स्थानीय तहहरुबाट आर्थिक सहयोग तथा उद्योगी–व्यवसायीहरुबाट आर्थिक सहयोगबाट जुटाइने पनि खतिवडाले जानकारी दिए ।

भद्रपुर नगरपालिकाका प्रमुख पोखरेलले जेसीजजस्तो अन्तराष्ट्रिय सामाजिक संगठनको नेपाल च्याप्टरको महाधिवेशन आयोजना गर्ने अवसर भद्रपुरले प्राप्त गर्न सकेको भन्दै यसलाई सफल बनाउन भद्रपुर मात्र नभई झापाभरिका जेसीज र स्थानीय तहहरुको योगदान र क्रियाशीलता आवश्यक हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *