भारतको स्वतन्त्रता दिवसको अवसरमा नेपाल भारत मैत्री संघ कोशीद्वारा पर्यटन प्रवद्र्धन सम्बन्धी गोष्ठी सम्पन्न

कुटीडाँडा (इलाम) । भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा नेपाल भारत मैत्री संघ कोशी प्रदेशको आयोजनामा शनिबार इलाममा पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ।

इलामको रोङ गाउँपालिका वडा नं ३ को कुटीडाँडास्थित हिल उड होटलमा ‘कोशी प्रदेशको ‘पर्यटकीय गन्तव्य, सम्भावना र चुनौती’ विषयक अन्तरक्रियात्मक कार्यशाला गोष्ठी सम्पन्न भएको होे।

नेपालका पर्यटकीय गन्तव्यहरुको बारेमा पहिचान गराउँदै भारतीय पर्यटकहरुलाई कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरुमा आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

नेपाल भारत मैत्री संघका केन्द्रीय उपाध्यक्ष एवम् कोशी प्रदेश अध्यक्ष छत्रबहादुर गिरीको अध्यक्षतामा आयोजित गोष्ठीको प्रमुख अतिथि इलाम, क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य निश्कल राईले उद्घाटन गरेका थिए । कार्यक्रममा पाल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सन्दिप राना विशिष्ट अतिथिको रुपमा सहभागी थिए ।

गोष्ठीमा झापा धुलाबारीका तेजप्रसाद चौलागाईले कोशी प्रदेशको ‘पर्यटकीय गन्तव्य, सम्भावना र चुनौती विषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यपत्रमाथि विभिन्न व्यक्तित्वहरुले टिप्पणी तथा राय–सुझाव प्रस्तुत गरेका थिए ।

आयोजकको तर्फबाट विर्तामोडका शेखर ढकालले स्वागत गरेको समारोहमा प्रमुख अतिथि राई र विशिष्ट अतिथि राना, नेपाल भारत मैत्री संघका केन्द्रीय अध्यक्ष शैलेन्द्रमोहन झा, स्थानीय होमस्टे व्यवसायी एकराज घिमिरेलगायतले मन्तव्य राखेका थिए ।

सोही समारोहका बीच कोशी प्रदेशअन्तर्गतका माध्यमिक विद्यालयबीच भएको निवन्ध प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयलाई ट्रफी तथा छात्र–छात्रालाई नगदसहित पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियोे ।

पर्यटन प्रवद्र्धन तथा नेपाल–भारत सम्बन्ध सम्बन्धी लेखिएको निवन्धहरुमध्ये इलाम जिल्लाको अमर माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा एस्तर दियाली प्रथम , झापाको धुलाबारी माविकी आरती दाहाल दोस्रो तथा सुनसरीको बाल मन्दिर माध्यमिक विद्यालयकी छात्रा लक्ष्मीप्रभा राई तेस्रो हुँदै पुरस्कृत भएका थिए । उनीहरुलाई प्रमुख अतिथिलगायत अतिथिहरुले पुरस्कार प्रदान गरेका थिए ।

नेपाल भारत मैत्री संघका केन्द्रीय सहअध्यक्ष बोधकृष्ण सुवेदी, संघका झापा जिल्ला अध्यक्ष प्रदीपमणि रेग्मी, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङबो (सुवास तामाङ)–लगायत उल्लेख्य उपस्थिति रहेको समारोहको सञ्चालन नेपाल भारत मैत्री संघ कोशी प्रदेश सचिव चन्द्रमणि पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *