पछिल्लो समय मुटुका बिरामी बढ्दै गएको सन्र्भभमा सचेतना जगाउने उद्देश्यले नेपाल हृदयरोग निवारण प्रतिष्ठान झापाले जिल्लामा सीपीआर सम्बन्धी तालिम अभियान सू गरेको छ ।
प्रतिष्ठानले यसको सुरुआत विर्तामोडबाट गरेको छ ।
शुक्रबार विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटलको कार्डियो विभागको प्राविधिक सहयोगमा पूर्वाञ्चल क्यान्सर अस्पतालको अडिटोरियममा ५० जनालाई सीपीआर तालिम दिइएको छ ।
कार्यक्रमलाई रोटरी क्लब अफ् बिर्तामोड मिडटाउन, रोटर्याक्ट क्लब अफ् बिर्तामोड मिडटाउन, रोटर्याक्ट क्लब अफ् बिर्तामोड, रोटरी क्लब अफ् सुरुङ्गा र बिर्तामोड रन क्लबले सहयोग गरेका थिए ।
यो तालिमलाई अभियानकै रुपमा सञ्चालन गरिने र बढीभन्दा बढी सीपीआर स्वयम्सेवक तयार गरिने प्रतिष्ठानका झापा जिल्ला अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिए ।

के हो– सीपीआर ?
सीपीआर भनेको ‘कार्डियोपल्मोनरी रिसस्सिटेशन’ हो । यो मुटुको धड्कन वा श्वास–प्रश्वास अचानक बन्द भएको व्यक्तिको ज्यान बचाउन गरिने एक प्रकारको आपतकालीन प्राथमिक उपचार विधि हो । यसले बिरामीको मस्तिष्क र मुटुमा रगत तथा अक्सिजनको आपूर्ति चालू राख्न मद्दत गर्दछ । अर्थात्, अर्को अर्थमा ‘हृदय–फोक्सो पुनरुत्थान’ गर्नु हो ।
कस्तो अवस्थामा गर्नु पर्छ ?
यो आकस्मिक प्राथमिक उपचार– कसैको मुटुको धड्कन अचानक रोकियो भने र डुबेर, करेन्ट लागेर वा श्वास फेर्न गाह्रो भएर बेहोश हुँदा अस्पताल पु¥याउन एम्बुलेन्स नआउञ्जेलसम्म गरिनुपर्ने विधि हो ।
सीपीआर कसरी गर्ने ?
बिरामीलाई समतल ठाउँमा सुताएर दुबै हातले छातीको बीच भागमा छिटो र गहिरोगरी लगातार जोडले प्रतिमिनेट १०० देखि १२० पटक थिच्दै छोड्दै गर्ने । यसले मुटुको गति पुनरुत्थान गर्न रगत पम्प गर्ने काम गर्छ । र, बिरामीको मुखमा मुख राखेर आवश्यकता अनुसार कृत्रिम श्वास दिने । यसो गर्दा फोक्सोमा अक्सिजन पु¥याउन मद्दत मिल्छ ।
