भद्रपुर । झापामा जिल्लास्तरीय कराते महासंघ गठन भएको छ ।
झापामा स्थापित कराते संघहरुले सितेरियो कराते प्रशिक्षक जगन कार्की दुवार्साको अध्यक्षतामा झापा जिल्ला कराते महासंघ सर्वसम्मत रुपमा गठन गरेको हो ।
कार्की झापा जिल्ला खेलकुद विकास समितिका सदस्य तथा प्रवक्ता हुन् ।
झापामा करातेअन्तर्गत सितेरियो, वादोकाइ र वादरियोका छुट्टाछुट्टै संघ थिए भने गुजरियो कराते पनि रहेको छ । केन्द्रमा राष्ट्रिय खेलकुद परिषदले सबै संघ विघटन गरी नेपाल कराते महासंघ बनाएपछि जिल्लामा पनि संघहरु मिलेर महासंघ निर्माण हुन थालेका हुन् ।
बिर्तामोडमा शनिबार झापा जिल्ला खेलकुद विकास समितिले एक कार्यक्रम आयोजना गरी नवगठित झापा जिल्ला कराते महासंघका पदाधिकारी तथा सदस्यहरुलाई बधासहित सम्मान गर्यो ।
नवगठित महासंघ झापाको उपाध्यक्षमा सञ्जीत मोहोली, सचिवमा सञ्जय शाह, कोषाध्यक्षमा रेनुका राई र सहसचिवमा जीवन राई चयन भएका छन् ।
त्यस्तै, सदस्यमा वादोरियोबाट दुर्गाचरण राजवंशी, वादोकाइबाट विकास गौतम, सितेरियोबाट हरि बस्नेत, राम पाठक, आशिष राई, राजेन्द्र लिम्बू, एलिजा घिमिरे र विक्रम मेचे चयन भएका छन् ।
त्यस्तै, झापाको प्रतिनिधित्व गर्दै महासंघ कोशी प्रदेशको उपाध्यक्षमा वरिष्ठ प्रशिक्षक शौरभ प्रधान र सदस्यमा रनेका राई निर्वाचित भएका छन् ।
कोशी प्रदेशको प्रतिनिधित्व गर्दै झापाका प्रशिक्षक मिलनराज प्रसाईं केन्द्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।
समिति अध्यक्ष प्रशान्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा करातेका पूर्वखेलाडी तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले युवाहरुलाई लागुऔषधबाट टाढा राख्न खेलकुदका गतिविधिमा प्रोत्साहन गर्नुपर्ने बताए ।
कराते प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ कराते प्रशिक्षक कालु मेचे लगायतले शुभकामना व्यक्त गरेका थिए ।