भद्रपुरमा मनाइयो २० औं धान दिवस

भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा २० औं राष्ट्रिय धान दिवस हर्षोल्लासका साथ मनाइएको छ ।
‘‘जलवायुअनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा बृद्धि’ भन्ने नाराका साथ भद्रपुर नगरपालिकाको कृषि शाखाको आयोजनामा भद्रपुर १ को दशरथपुरमा स्थानीय टिका थापाको खेतमा धान रोपेर र विविध प्रतियोगिता गरेर उल्लासपूर्वक राष्ट्रिय धान दिवस मनाइएको हो ।
नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले संयुक्त रुपमा धान रोपेर धान दिवसको उद्घाटन गरेका थिए ।

रोपाइँसँगै हिले दौड र हिले रस्सी तानातान प्रतियोगिता पनि गरिएको थियो । हिले दौडमा महिलातर्फ प्रथम मनिका राजवंशी र पुरुषतर्फ प्रथम रितेश भट्टराई तथा रस्सी तानातानमा सहभागी सबै महिलाहरूलाई पुरस्कृत गरिएको कृषि शाखाका प्रमुख नविन कुँवरले जानकारी दिए ।
वडा नं १ का वडाध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा आयोजित औपचारिक कार्यक्रममा वडा नं १० का वडाध्यक्ष टेकबहादुर खड्का, वडा नं ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, वडा नं ६ का वडाध्यक्ष रतिया राजवंशी, वडा नं २ का वडाध्यक्ष राम कँडेललगायतले शुभकामना मन्तव्य राख्दै कृषिमा आत्मनिर्भर बन्नुपर्ने आवश्यकता रहेको औंल्याएका थिए । सो कार्यक्रममा भरखरै तालिम लिएका भद्रपुरका महिलाहरुले नौमती बाजा पनि बजाएका थिए ।
दशरथपुरमा कृषि विकास शाखाको सहकार्यमा धान बाली पकेट विकास कार्यक्रम सञ्चालन गरिएको छ । त्यसका लागि नमुना धान पकेट समन्वय सञ्चालन समिति गठन गरेर गतिविधि अघि बढाइएको छ । सो कार्यक्रमका लागि ५ वटा कृषक समूह गठन गरिएको छ भने २१ लाख ४१ हजार ८ सय रुपैयाँको बजेट परिचालन भएको छ ।
त्यसमा भद्रपुर नगरपालिकाबाट १२ लाख ४ हजार ४ सय र कृषक समूहबाट ९ लाख ३७ हजार ४ सय रुपैयाँ बेहोरिएको समितिकी अध्यक्ष तुलसा थापाले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *