भद्रपुरमा रोजगार सम्बाद मञ्च गठनको तयारी

भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुरमा रोजगार क्षेत्रको समग्र पक्षको समुचित व्यवस्थापन गर्ने उद्देश्यले रोजगार सम्बाद मञ्च गठनको तयारी गरिएको छ ।
नगरपालिकाले यसका लागि सरोकारवालाहरुसँग छलफल पनि शुरु गरेको छ ।
भद्रपुर नगरपालिकामा रोजगारीको क्षेत्रका अवसर तथा सम्भावनाको पहिचान, समस्याहरुको निदान र रोजगारी सिर्जनाका नविनतम उपाय एवम् ढाँचा तथा विधि विकास गर्न, रोजगार नीति तथा कार्यक्रमका सम्बन्धमा आवश्यक सुझाव आदान–प्रदान गर्न निजी, सहकारी तथा गैरसरकारी क्षेत्र, नागरिक समाज र सञ्चार क्षेत्रसमेतको सहभागितामा रोजगार सम्वाद मञ्च गठनको तयारी गरिएको नगरपालिकाका रोजगार संयोजक टिकाराम पाण्डेले जानकारी दिए ।


यसै सन्दर्भमा मंगलबार सरोकारवालाबीच ‘रोजगार सम्वाद मञ्च सञ्चालन एवम् स्थानीय तह रोजगार तर्जुमा’सम्बन्धी अन्तरक्रिया गरिएको छ ।
नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा आयोजना गरिएको अन्तरक्रियामा प्मुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले रोजगारको बहुआयामिक पक्षका बारेमा जानकारी गराएका थिए भने सुरक्षित आप्रवासन कार्यक्रम (सामी)–का कार्यक्रम संयोजक फणिन्द्रप्रसाद दाहालले आन्तरिक रोजगारी, खोजी र साझेदारी’ विषयमा प्रस्तुति दिएका थिए ।
कार्यक्रममा नगरपालिकाले रोजगार सम्बाद मञ्च सञ्चालन तथा व्यवस्थापन कार्यविधिको प्रारुप तयार पारेको र छलफलको क्रममा रहेको जानकारी दिँदै नगरप्रमुख पोखरेलले छुट्नसक्ने विषयहरुका लागि सुझाव संकलन गर्न सरोकारवालाहरुबीच अन्तरक्रिया गरिएको जानकारी दिए ।
कार्यक्रममा संकलन भएका महत्वपूर्ण सुझावहरु समेटेर कार्यविधिलाई अन्तिम रुप दिइने र यसै वर्षबाट कार्यविधि लागू गरी कार्यान्वयनमा ल्याइने नगरप्रमुख पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *