झापा । झापाको कनकाई नगरपालिकाले आजदेखि सार्वजनिक क्षेत्रमा सूर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सूर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । नगरसभाबाटै सूर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।
नगर क्षेत्रमा सूर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएकाले कसैले अटेर वा बेवास्ता गरे नगरको ऐनबमोजिम बिक्रीकर्तालाई अधिकतम् रू ५० हजार र प्रयोगकर्ताको हकमा अधिकतम् पाँच हजार रुपैयाँ जरिवाना गराइने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले बताए ।
कनकाई नगरपालिकालाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियार्न सफल बनाउन हिजो सचेतनामूलक र्याली निकालिएको थियो ।
सचेतनामूलक नाराअंकित प्लेकार्ड बोकेर र्यालीले नगर परिक्रममा गरेको थियो । र्यालीमा नगरप्रमुख पोखरेलको सक्रिय सहभागिता थियो ।