विर्तामोड । नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखराका होटल व्यवसायीहरुले पर्यटन प्रवद्र्धन अन्तर्गत सञ्चालन गर्दै आइरहेको ‘जाउँ है पोखरा’ कार्यक्रम बारे झापामा जानकारी गराएका छन् । पर्यटन प्रवद्र्धन मुख्य उद्देश्य रहेको कार्यक्रमका लागि पोखरा होटल व्यवसायी संघले पूर्वमा अभियान सञ्चालन गरिरहेको छ ।
झापाका होटल व्यवसायी, ट्राभल्स व्यवसायी र सञ्चारकर्मीहरुसँग होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी लगायत अभियन्ताहरुले ‘जाउँ है पोखरा’ को औचित्यमाथि प्रकाश पारेका थिए ।
शनिबार बिर्तामोडको सिपी होटलमा भएको कार्यक्रममा अध्यक्ष सुवेदीले पूर्वी नेपालका प्रमुख सहरमा पर्यटनसम्बद्ध क्षेत्रका व्यवसायीलाई भेट्दै पोखरा भ्रमणको निम्तो दिन कार्यक्रम गरिएको जानकारी दिए । अन्तरक्रियामा अध्यक्ष सुवेदीले आफूूहरूले दुई दशकअघिदेखि नेपालभित्रैका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गर्दै आएको र त्यसले सकारात्मक परिणाम दिइरहेको पनि जानकारी गराएका थिए । सुवेदीले अभियान सुरु गर्दा एक प्रतिशत मात्रै रहेको आन्तरिक पर्यटकको आगमन हालसम्म आइपुग्दा ३५ प्रतिशत पुगिसकेको उनले बताए ।
उनले आन्तरिक पर्यटन प्रवद्र्धनकै लागि हरेक वर्ष फेवा नव वर्ष महोत्सव, भाइटिका महोत्सव, खाना महोत्सव गर्दै आइरहेको जानकारी दिँदै यस वर्ष ती महोत्सवका साथै आगामी मंसिर ९ गते पोखरा क्रस कन्ट्री रेस गर्न लागिएको पनि बताए । सो प्रतियोगितामा चीन, भारतलगायतका देशका पर्यटकहरुको अधिकतम सहभागिता गराउने प्रयास भइरहेको पनि सुवेदीले जानकारी दिए ।
नेपाल डुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) कोशी प्रदेशमा महासचिव नविन खरेलले सञ्चालन गरेको अन्तरक्रियात्मक सो कार्यक्रममा नाट्टा कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शेखर ढकाललगायत झापाका ट्राभल व्यवसायी, होटल व्यवसायीहरुको उल्लेख्य सहभागिता थियो ।