झापा । खानेपानी उपभोक्ता तथा सरसफाइ समिति चन्द्रगढीको २१औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ। कोशी प्रदेश सांसद तथा निवर्तमान मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्य र समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो।
भद्रपुर १० चन्द्रगढीको शिवांस होटलमा आयोजना गरिएको साधारण सभामा प्रमुख अतिथि कार्की, विशिष्ट अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र चन्द्रगढी दोस्रो खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष चुडामणि मैनालीले शुभकामना मन्तव्य राखेका थिए ।
कोशी प्रदेश सासंद तथा निवर्तमान मन्त्री एकराज कार्कीले परिषद भेलाको उद्घाटन गर्दै प्रदेशमा स्थिर सरकार नहुँदा जनचाहनाअनुरुप काम गर्न नसकिएको बताउँदै संविधानको धारा १६८ को ५ अनुसार गठित बर्तमान सरकारले विश्वासको मत प्राप्त गर्न नसके मध्यावधि निर्वाचनको बिकल्प नरहेको बताए । उनले शुद्ध पानी पाउनु नागरिकको नैसर्गिक अधिकार भउकोले गरिब तथा असहाय जनतालार्इ निः शुल्क पानी वितरण गर्नुपर्नेमा जोड दिए।
संस्थाका अध्यक्ष पुरुषोत्तम अधिकारीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै झापाका खानेपानी समितिहरुमध्ये चन्द्रगढीले सबैभन्दा कम दर तथा छुटमा उपभोक्तालाई खानेपानी उपलब्ध गराएको बताउँदै संस्थाले गरेका गतिविधिका बारेमा प्रकाश पारेका थिए ।
समितिका सचिव बाबुराम कार्कीले सञ्चालन गरेको साधारण सभामा सहसचिव झुमा शिवाकोटी दाहालले स्वागत गरेकी थिइन् ।
कोषाध्यक्ष खेमराज भट्टराईले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक माधव घिमिरेले आन्तरिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको साधारण सभाको बन्द सत्रले अध्यक्ष र कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन पारित गरेको जनाइएको छ।