झापा लिगको तयारी उत्कर्षमा, खेलमैदान तयार हुँदै, उपसमितिहरु गठन

भद्रपुर । मंसिर पहिलो सातादेखि आयोजना हुन लागेको प्रथम झापा लिग कम नकआउट फुटबल प्रतियोगिताको तयारी तीव्र बनाइएको छ ।
गत फागुनमा सर्वाधिक सफलतापूर्वक प्रथम भद्रपुर झापा गोल्डकप सम्पन्न गरेको भद्रपुर झापा गोल्डकपको आयोजनामा हुन लागेको पहिलो लिगको तयारीलाई तीव्र बनाइएको गोल्डकपका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।
तयारीस्वरुप आयोजक भद्रपुर झापा गोल्डकपको सचिवालय भद्रपुरमा आज सम्पन्न कार्यसमिति बैठकले प्रतियोगिताका लागि आर्थिक, प्राविधिक, व्यवस्थापन, अतिथि सत्कार, पार्किङ, प्रचारप्रसारलगायतका विभिन्न महत्वपूर्ण उपसमितिहरु गठन गरेको अध्यक्ष ढकालले जानकारी दिए । त्यस्तै, प्रतियोगिताका लागि रंगशाला सम्याउने, भिजाउने, झार काट्ने तथा घाँस हुर्काउने काम भइरहेको मैदान व्यवस्थापनि समितिका संयोजक, कार्यसमिति सदस्य कुमार श्रेष्ठले जानकारी दिए ।बैठकमा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले लिगका लागि भइरहेका अन्य व्यवस्थापकीय तयारीका बारे जानकारी गराएका थिए ।
झापाकै सुविधासम्पन्न तथा व्यवस्थित भद्रपुरको मेची रंगशालामा हुने झापा लिग १७ दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिता फिफा विश्वकपको ढाँचामा खेलाइने अध्यक्ष ढकालले जानकारी दिए ।

झापाका १५ वटा पालिका र आयोजकको एक टिम गरी प्रतियोगितामा १६ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् । १६ वटा टिमलाई चारवटा समूहमा विभाजन गरी खेलाइने छ ।

प्रत्येक समूहका विजेता र उपविजेता गरी आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ, ट्रफी र मेडल, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने गोल्डकपका सचिव टहलदास मैनालीले बताए ।

प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ । खर्चको स्रोत सम्बद्ध सरकारी निकाय, उद्योग–व्यवसाय क्षेत्र, विभिन्नखाले विज्ञापन र टिकट बिक्रीबाट जुटाइने आर्थिक उपसमितिका संयोजक एवम् गोल्डकपका प्मुख सल्लाहकार टिकाराज ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *