सामाजिक कार्य तथा सेवामा झापाको अग्रणी संस्था रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरले विपन्न परिवारका ज्येष्ठ नागरिक र विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
झापा गाउँपालिका–२ सडकबारीमा रहेको जुडो आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी तथा स्थानीय विपन्न ज्येष्ठ नागरिक महिलाहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
विद्यालयमा आज आयोजित एक कार्यक्रमका बीच ३० जना विद्यार्थीलाई स्विटर र ११ जना ज्येष्ठ महिलालाई ऊनीको बर्को प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर खड्काको अध्यक्षता तथा झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाको प्रमुख आतिथ्यमा न्यानो कपडा हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष समाजसेवी गंगाप्रसाद ओली, कोषाध्यक्ष गोपाल ओली, सचिव नारायणप्रसाद ओली, संस्थापक सदस्य शारदा ओली, झापा २ का वडाध्यक्ष हिमाल चम्लागाईं, प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियालगायतले न्यानो कपडा वितरण गरेका थिए ।
प्रतिष्ठानले विभिन्न विधाका प्रतिभालाई पुरस्कृत पनि गर्दै आएको छ । अध्यक्ष गंगाप्रसाद ओलीका अनुसार जाडो महिनाभरि जिल्लाका अन्य चार विद्यालयका विद्यार्थीलाई पनि न्यानो कपडा वितरण गरिनेछ ।
कार्यक्रमकै अवसर पारेर झापा जिल्ला खेलकुद विकास समितिकी उपाध्यक्ष गंगा कोइराला भुर्तेलले स्थानीय युवाहरुलाई प्रतिष्ठानले नै उपलब्ध गराएको ब्याडमिन्टनको नेट र कक प्रदान गरेकी थिइन् ।
त्यस्तै, झापा जिल्ला जुडो संघका अध्यक्ष प्राडा पृथ्वीविक्रम राई र जुडो प्रशिक्षक गंगा खड्काले जुडो ड्रेस प्रदान गरेका थिए ।
सन्थाल, मुस्लिम र राजवंशी समुदायका विद्यार्थी अध्ययनरत सो विद्यालय खेलसँग सम्बन्धित नेपालको एक मात्र विद्यालय हो । विद्यालयमा जुडोको नियमित प्रशिक्षण हुँदै आएको छ ।