चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको २४ औं परिषद बुधबार सम्पन्न भएको छ ।
भद्रपुर–९ स्थित रहेको मुना सामुदायिक भवनमा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले विरुवामा पानी हालेर परिषद भेलाको उद्घाटन गरेका थिए । संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दुर्गाप्रसाद भट्टराईले भेटेनरी लगायतका विभिन्न कृषि कार्यक्रमहरुमा उपभोक्ता कृषकहरुलाई वन उपभोक्ता समूहले सहकार्य र सहयोग गर्दै जाने बताए । उनले संस्थाका गतिविधिका बारेमा प्रकाश पार्दै वनले गरेका कार्यहरुको बारेमा जानकारी गराएका थिए ।
समारोहका प्रमुख अतिथि नगरप्रमुख अतिथि पोखरेलले वन समितिले उपभोक्ताको हितका लागि गर्ने कार्यहरुमा नगरपालिकाको पूर्ण सहयोग रहने बताउँदै चन्द्रगढलाई पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्नका लागि नगरपालिकाले डीपीआर तयार गरी कार्ययोजना बनाउने जानकारी दिए ।
कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, वनका निवर्तमान अध्यक्ष हिराप्रसाद पोखरेल, सब वन डिभिजन कार्यलय झापाका अधिकृत राजु खड्का, चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष चूडामणि मैनालीलगायतले मन्तव्य राखेका थिए। अध्यक्ष भट्टराईको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन सचिव पार्वती मल्ल र स्वागत उपाध्यक्ष गोकुल ढकालले गरेका थिए ।