कचनकवलमा सिम्रिक सोकासको निःशुल्क स्वास्थ्य शिविर, ७५० बढीले लिए उपचार सेवा

झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको जिल्लाकै अग्रणी सहकारी संस्था सिम्रिक वचत तथा ऋण सहकारी संस्थाले दक्षिणी झापाको कचनकवल गाउँपालिकामा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
सिम्रिक साकोसले सामाजिक उत्तरदायित्वअन्तरगत कचनकवल–२ सुकुनाडिगीस्थित लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालय परिसरमा बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
नोबेल शिक्षण अस्पताल विराटनगरको प्राविधिक सहयोगमा आइतबार र सोमबार सञ्चालित सवास्थ्य शिविरबाट ७५० बढी सर्वसाधारणले सेवा लिएका छन् ।


शिविरबाट जेनेरल फिजिसियनतर्फ २१४ जना, बालबालिकातर्फ ४५ जना, स्त्री तथा प्रसुतीतर्फ ४० जना, हाडजोर्नी तथा नसातर्फ ७६ जना, शल्यक्रियातर्फ १३ जना, छाला रोगतर्फ १३८ जना, नाक कान घाँटीतर्फ ७३ जना, आँखार्फ २०९ जना, दन्त परीक्षणतर्फ ६६ जना, ल्याबतर्फ ८० जना, इ.सी.जीतर्फ १०९ जना र भिडियो एक्स–रेतर्फ २३५ जनाले सेवा लिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर वस्नेतले जानकारी दिए । तीमध्ये ५३० जनाले निःशुल्क रुपमा औषधि प्राप्त गरेको पनि वस्नेतले बताए ।


आइतबार संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले शिविरको उद्घाटन गरेका थिए । उद्घाटन समारोहका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजंवशीले स्वास्थ्य सेवा महँगो भइरहेको बेला सिम्रिक साकोसले स्वास्थ्य शिविर आयोजना गरेर विपन्न समुदायलाई आफ्नो स्वास्थ्यको अवस्थाका बारे जानकारी लिने, उपचार गराउने अवसर प्रदान गरेको बताए । कार्यक्रमको सञ्चालन संस्थाका विभागीय प्रमुख विजय वस्नेतले गरेका थिए ।


कचनकवलमा शिविपर सञ्चालनका लागि नोबेल शिक्षण अस्पतालसँग राम्रो सम्बन्ध रहेका सूर्यप्रसाद रिमालले सहयोग गरेका थिए ।
शिविरमा नोबेल अस्पतालका मार्केटिङ अफिसर नविन दाहालको नेतृत्वमा जेनेरल फिजिसियन डा. सुदीप सिंह, स्त्री रोग विशेषज्ञ दिपाली चौरसिया, बालरोग विशेषज्ञ सयिम आलम, सर्जन डा. अञ्जलि शाह, दन्त चिकित्सक एलिसा चापागाईं, नाक, कान, घाँटी रोग विशेषज्ञ डा. राजेश राय र हाडडोर्जी रोग विशेषज्ञ डा. प्रकाश रायलगायत १७ जनाको चिकित्सकीय टोलीले सेवा प्रदान गरेको थियो ।
स्थानीय ७६ वर्षीय जेष्ठ नागरिक हरिकृष्ण बजगाईंको स्वास्थ्य परीक्षणबाट शिविर उद्घाटन गरिएको थियो ।
शिविरमा उपचारपछि थप उपचार गर्नुपर्ने भएमा त्यस्ता बिरामीलाई नोबेल अस्पतालले उपचारमा २५ प्रतिशत छुट दिने मार्केटिङ अफिसर दाहालले जानकारी दिए ।


अन्य वित्तीय संस्थाभन्दा सहकारी पृथक भएको बताउँदै संस्थाका अध्यक्ष भट्टराईले सहकारी जन्मेदेखि मृत्युपर्यन्त सदस्यको साथी भएको उल्लेख गरे । उनले सदस्य बिरामी हुँदा संस्थाले ५० प्रतिशतसम्म उपचार सुविधा दिँदै आएको जानकारी गराउँदै सदस्यहरुलाई संस्थाको उपचार कोषमा आबद्ध हुन पनि आग्रह गरे ।
स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुभद्रा अधिकारी, विद्यालय व्यवस्थापन समितिका सदस्य चित्र थापा, संस्थाका उपाध्यक्ष किरण कपुरी, सचिव इन्द्रबहादुर कार्की, कोषाध्यक्ष मेहरमान विष्ट, सदस्य लीला अधिकारी मुखिया, सदस्य नविन जोगीलगायतको उपस्थिति थियो ।


झापा, मोरङ, इलाम र पाँचथर जिल्ला गरी ५० वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गरिरहेको सिम्रिक साकोसमा ६१ हजार ३७९ जना शेयर सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *