झापा । नयाँ प्रविधिको प्रयोग गरेर सम्पूर्ण छाला रोगसम्बन्धी उपचार साथै प।रामर्श उपलब्ध गराउने उद्देश्यले झापाको व्यापारिक नगरी विर्तामोडमा आरआर पोलिक्लिनिक सञ्चालनमा आएको छ ।
कनकाई हस्पिटलका सञ्चालकसमेत रहेका महेन्द्रबहादुर राईले करिब २ करोड रुपैयाँको एकल लगानीमा पोलिक्लिनिक सञ्चालनमा ल्याएका हुन् ।
झापाको बिर्तामोड–४ स्थित भद्रपुररोडमा सञ्चालनमा आएको पोलिक्लिनिकको उद्घाटन छाला रोग विशेषज्ञ तथा हेयर ट्रान्सप्लान्ट सर्जन डा. मोहन भुसालले शनिबार एक संक्षिप्त समारोहका बीच गरेका हुन् । उद्घाटन समारोहका प्रमुख अतिथिसमेत रहेका डा. भुसालले आफ्नै निगरानी रहने गरी पोलिक्लिनिक सञ्चालनमा आएको बताएका छन् ।
पोलिक्लिनिकमा शरीरमा हुने दुबी, डाबर, पुरानो दाद, शरीर चिलाउने, छाला फुस्रो हुने, कपाल खस्ने, तालु खुइलिने, यौनरोग तथा कुष्ठरोगको समस्या, डन्डिफोर, अनुहारको चायापोतो, बालबालिका र नवजात शिशुको छाला सम्बन्धी सबै समस्याको उपचारका साथै उचित परामर्श प्रदान गरिने सञ्चालक राईले जानकारी दिए ।
त्यस्तै, पोलिक्लिनिकमा नयाँ प्रविधिको प्रयोगबाट कपाल रोप्ने र ट्याटु हटाउने कार्य पनि गरिने बताइएको छ ।
पोलिक्लिनिकमा दैनिक प्याथोलोजी ल्याव सेवा, फार्मेसी सेवाका साथै छालासम्बन्धी विशिष्टीकृत सेवाहरुलाई समयअनुसार अगाडि बढाउँदै लगिने पोलिक्लिनिककी प्रवन्ध निर्देशक मनिता राईले जानकारी दिइन् ।
पोलिक्लिनिकका सञ्चालक महेन्द्रबहादुर राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत कर्मचारी रेणुका श्रेष्ठले गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि डा. भुसाल, विर्तामोड उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यमी समूहकी अध्यक्ष तिलोत्तमा खत्री, पोलिक्लिनिकका सल्लाहकार अभय भुजेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा कनकाई हस्पिटल बिर्तामोडका अध्यक्ष युवराज डाँगी, सञ्चालक किशोर भुजेल, खेमराज बानियाँ, फणिन्द्र चापागाईं, डा. कमला आचार्य, डा. रोहित पन्जियारलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन सागर रिजालले गरेका थिए ।