झापा । सामाजिक उत्तरदायित्वअन्तर्ग स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग पुर्याउँदै आएको झापाको विर्तामोडस्थित सिम्रिक वचत तथा ऋण सहकारी संस्थाले जिल्लाको विभिन्न क्षेत्रमा सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराएको छ ।
यसैक्रममा बिहीबार भद्रपुर नगरपालिका–७ स्थित अञ्जनीमोडको भृकुटी आधारभूत विद्यालयका ६४ जना विद्यार्थीलाई ब्याग वितरण गरेको छ ।
संस्थाको सामाजिक उत्तरदायित्वअन्तरगत बिहीबार विद्यालयमै पुगेर बिद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।
कार्यक्रमकी प्रमुख अतिथि भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की, भद्रपुर–७ का वडाध्यक्ष अभिषेक ढुङ्गाना, संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत, कोषाध्यक्ष मेहरमान बिष्टलगायतले बिद्यार्थीहरुलाई ब्याग वितरण गरेका थिए ।
सोही अवसरमा बिद्यालयले कसैको नजर नपरेको बिद्यालयमा संस्थाले ब्याग वितरण गरेको भन्दै संस्थालाई सम्मानसमेत गरेको थियो । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र लम्साल, बिद्यालयका निमित्त प्रधानाध्यापक बाबुराम उपाध्याय, शिक्षक प्रेमप्रसाद भट्टराईले संस्थालाई सम्मान गरेका थिए ।
संस्थाले यसअघि कचनकवलमा निःशुल्क स्वास्थ्य शिविर, बिर्तामोड–६ र ७ तथा बाहदशीमा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण र विर्तामोड–९ को सहिद लक्ष्मी आधारभूत बिद्यालयका १०८ जना बिद्यार्थीलाई ब्याग वितरण गरिसकेको छ ।
संस्थाका कोषाध्यक्ष मेहरमान विष्टले स्वागत र संस्थाका जोखिम बिभाग प्रमुख विजय बस्नेतले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख कार्की, वडाध्यक्ष ढुङ्गानालगायतले सिम्रिक साकोसको सामाजिक सेवाकार्यको प्रशंसा गर्दै त्यसलाई निरन्तरता दिन आग्रह गरेका थिए ।