मेची आँखा अस्पतालको २७ औं वार्षिकोत्सव, सेवा विस्तारको समुद्घाटन

मुलुकमै आँखा उपचारका लागि प्रमुख स्वास्थ्य प्रतिष्ठान बन्दै गएको झापाको विर्तामोड–३ सैनिकमोडस्थित मेची आँखा अस्पतालले एक भव्य समारोहका बीच २७ औं वार्षिकोत्सव मनाएको छ ।
मेची अस्पताल संघले अस्पताल परिसरमै शुक्रबार दिउँसो आयोजना गरेको २७ औं वार्षिकोत्सव समारोहको संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर वस्नेतले उद्घाटन गरे ।


संघका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा आयोजित समारोहमा अस्पतालले हालसम्म प्रवाह गरेका उपचार तथा सेवाका बारेमा जानकारी गराउँदै आगामी कार्ययोजनाका बारे प्रष्ट पारिएको थियो ।


अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीले सन् २०२३ मा मेची आँखा अस्पतालबाट बहिरंग सेवाअन्तर्गत १ लाख ९७ हजार ८७२ तथा आउटरिच कार्यक्रमअनतर्गत ७९ हजार २५ जना गरी २ लाख ७६ हजार ८९३ जनाको आँखा परीक्षण गरिएको जानकारी दिए । यो संख्या सन् २०२२ तुलनामा २०.३६ प्रतिशतले बढी हो । शल्यक्रिया सेवातर्फ अस्पतालबाट ३४ हजार ५४५ जना र बाह्रय कार्यक्रमअन्तर्गत एक हजार ८१३ जना गरी ३६ हजार ३५८ जना आँखाका बिरामीको शल्यक्रिया भएको डा. जोशीले बताए । यीमध्ये २१ हजार ९५७ जना बिरामीको मोतियाविन्दूको शल्यक्रिया भएको छ ।


यसैगरी, अति विशिष्ट सेवातर्फ ७ हजार ४०२ जनाको रेटिनाको शल्यक्रिाण, २ हजार ८०५ जनाको कोर्नियाको शल्यक्रिया र ३ हजार ५६७ जनाको अकुलोप्लाक्ष्टिको शल्यक्रिया र अन्य ६२७ जनाको शल्यक्रिया गरिएको डा. जोशीले जानकारी दिए ।
यसैगरी नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रमअन्तर्गत ५१ हजार ९१५ जनाको आँखा परीक्षण र ५ हजार ६६१ जनाको आँखाको शल्यक्रिया भएको छ ।
अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न् स्क्रिनिङ क्याम्प र पीइईसीसीहरुबाट रेफर भई आएका ४ हजार ७५६ जना असहाय एवम् विपन्न वर्गका बिरामीहरुको निःशुल्क उपचार गरेको र यसमा अस्पतालले ५३ लाख ७५ हजार रुपैयाँ व्यहोरेको डा. जोशीको भनाइ छ ।
छिमेकी मुलुक भारतको विभिन्न राज्यहरुबाट ठूलो संख्यामा आँखाका विरामी उपचारका लागि आउने गरेको मेची आँखा अस्पतालले आफ्नो सेवा समयानुकूल आधुनिक र गुणस्तरीय बनाउँदै लगेको बताउँदै डा. जोशीले अस्पतालले सेवा विस्तारलाई पनि प्राथमिकतामा राखेको उल्लेख गरे । उनले यसै वर्ष पेडियाट्रिक, अर्थोप्टिक्सकोर्नियन तथा रिफ्रेक्टिभ आई सर्जरी सेवा सुरु गरिएको जानकारी दिए ।


अस्पतालको २७ औं वार्षिकोत्सवकै अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री वस्नेतले ती सेवाको पनि समुद्घाटन गरेका छन् ।
अस्पताल संघका सचिव गणेश पोखरेलले सञ्चालन र सदस्य चण्डीप्रसाद पराजुलीले स्वागत गरेको वार्षिकोत्सव समारोहमा अस्पतालमा योगदान पुर्याउने विभिन्न व्यक्तित्व, मरणोपरान्त आँखा दान गर्ने दाताका परिवार, सेवानिवृत्त कर्मचारी, उत्कृष्ट कर्मचारी एवम् अस्पतालले सञ्चालन गरेका खेलकुद तथा साँस्कृतिक प्रतियोगिताका उत्कृष्टहरुलाई सम्मान गरिएको थियो ।


समारोहमा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि मन्त्री वस्नेतले अस्पताल आफूले सुनेभन्दा बढी सुविधासम्पन्न र अन्तर्राष्टि«यस्तरको रहेको भन्दै अस्पतालको उन्नयनका लागि सरकारको तर्फबाट हुनसक्ने सहयोग उपलब्ध गराउने आश्वासन दिए । यसैगरी कोशी प्रदेश सभा सदस्य, पूर्व मन्त्री एकराज कार्की, बेलका नगरपालिकाका प्रमुख, अशोक कार्की, विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलमती राजवंशी, टिचिङ हस्पिटल, वीपी केएलसीओएस आँखा विभाग प्रमुख तथा नेपाल अप्थाल्मिक सोसाइटीकी अध्यक्ष प्रा. डा. मीनु चौधरी, नेपाल आँखा बैंकका निर्देशक शंख तोयना, डा. किशोर प्रधान, नेपाली कांग्रेसका झापा सभापति देउकुमार थेबे, समाजसेवी लोकबन्धु कन्दङ्वालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समारोहमा सांस्कृतिक प्रस्तुति पनि रहेको सचिव गणेश पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *