विर्तामोड नगरपालिकाको नगरसभा ः दुई विधेयक पारित, पुरस्कार–सम्मान

विर्तामोड । झापाको विर्तामोड नगरपालिकाले दोस्रो नगरसभाको चौथो अधिवेशन सम्पन्न गरेको छ ।

आइतबार वडा नम्बर ७ स्थित पर्यटकीयस्थल सहिद नेत्र पार्कमा प्रदेशसभा सदस्य तथा काशी प्रदेसका पूर्व मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा आयोजित नगरसभाले दुइवटा विधेयकसहित ७ वटा प्रस्ताव पास गरेको छ ।

पास भएका विधेयकहरुमा फोहोरमैला व्यवस्थापन विधेयक २०८० र आर्थिक ऐन २०८० दोस्रो संसोधन गर्ने विधेयक २०८० रहेका छन् । ती विधेयक विधायक समिति संयोजक शर्मिला राजवंशीले सभामा पेश गरेकी थिइन् ।

यसैगरी, नगरसभाकी अध्यक्ष नगरप्रमुख पवित्रा महतारा प्रसाईले पेश गरेको चारवटा र नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले पेश गरेको तीनवटा प्रस्ताव सर्वसम्मत पारित भएको बताइएको छ ।

नगर प्रमुख प्रसाईंले पेश गरेको स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २२ अनुसार सुशासन समिति र विधायन समिति गठन गर्ने, नगरभित्रका सडकहरुमा प्रयोग गरिने पेवर्स ब्लकको गुणस्तरीयता कायम गर्न नेपाल गुणस्तर चिन्ह प्राप्त पेवर्स ब्लक मात्र प्रयोग गर्ने, नगरपालिका क्षेत्रभित्र विगतमा पेवर्स जडान गरी निर्माण गरिएका सय मिटरभन्दा कमका अधूरा सडकहरुलाई सम्बन्धित वडाको आगामी वर्षको सिलिङबाट ५० प्रतिशत र नगरपालिकाबाट ५० प्रतिशत लागत व्यहोर्ने र डिपिआर पास भएर प्रक्रियाको चरणमा रहेको देवीहाट बुधबारे बजारमा बहुतले पार्किङसहितको देबी कम्प्लेक्स निर्माणका लागि नगर विकास कोषमा ऋण र अनुदान माग गर्ने प्रस्ताव पास भएको हो ।

यस्तै उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले पेश गरेको आ. व. ०८०–८१ का लागि स्वीकृत योजना तथा कार्यक्रममा केही संशोधन तथा रकमान्तर गर्ने, विभिन्न मितिमा कार्यपालिका तथा नगर प्रमुखबाट निर्णय भई कार्यान्वयन भएका र उल्लेखित योजना तथा कार्यक्रम अनुमोदन गर्ने र स्वीकृत बजेटअनुसार लक्षित वर्गमा बिनियोजित बजेटबाट सञ्चालन गरिने योजना तथा कार्यक्रम स्वीकृत गर्ने सम्बन्धी प्रस्ताव पास भएको हो ।

प्रस्तावहरुमाथि छलफलका क्रममा वडा सदस्य टेकबहादुर अधिकारी, ओमभक्त सेडाई, अग्निप्रसाद सिटौला र हेमलता विश्वकर्माले सुझाव राखेका थिए ।
यसैगरी, सभामा उपप्रमुख संग्रौलाले अद्र्धवार्षिक समिक्षासँगै पुस मसान्तसम्मको आम्दानी र खर्चको विवरण पेश गरेका थिए । समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान, समपूरक अनुदान, राजश्व बाँडफाँड आन्तरिक स्रोत (समेत), घरजग्गा रजिष्ट्रेशन गरी ५४ करोड, १२ लाख ७२ हजार ८०६ रुपैयाँ ४५ पैसा आम्दानी भएको छ । यस्तै चालु र पूँजीगत खर्च गरी सो अवधिमा ३५ करोड ३८ लाख ७२ हजार ६८३ रुपैयाँ २९ पैसा खर्च भएको उपप्रमुख संग्रौलाले जानकारी दिए ।

सोही समारोहका बीच नगरपालिकाले उत्कृष्ट कर्मचारीसहित जग्गादातालाई सम्मान गर्यो ।

नगरपालिकाले उत्कृष्ट कर्मचारीको रुपमा शिक्षा शाखाका अधिकृत दिनेशप्रसाद आचार्य, वडा नम्बर ९ का वडासचिव सुवासकुमार वि.क. र विर्तामोड नगर अस्पतालकी सिनियर अनमी ओमकुमारी गुरुङलाई २५ हजार नगदसहित सम्मान गरेको हो ।

नगरपालिकाले वडा नम्बर १० मा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाता श्रीप्रसाद शिवाकोटी दम्पतीलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

 

यसैगरी, सोही नगरपालिकाबाट सरकारी सेवानिवृत्त भएका सामाजिक विकास शाखा प्रमुख (अधिकृत स्तर छैटौं) डिल्ली दाहाललाई सम्मानसहित विदा गरिएको थियो । भद्रपुर नगरपालिका १० निवासी दाहालले २०४४ साल मंसिर १४ गतेदेखि सरकारी सेवामा प्रवेश गरेका थिए । नगर प्रमुख प्रसाई र वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले अधिकृत दाहालले विर्तामोड नगरपालिकामा रहँदा गरेका कार्यहरुको प्रशंसा गरेका थिए । दाहाल सहकारीविज्ञका रुपमा पनि परिचित छन् ।
पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरुलाई प्रतिनिधिसभा सदस्य हर्कमाया विश्वकर्मा, जिल्ला समन्वय समिति उपप्रमुख शान्ता रोक्का, नगरप्रमुख प्रसाई, उपप्रमुख संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेलगायतले सम्मानपत्र प्रदान गरेका थिए ।
नगरसभाको सञ्चालन नगरपालिकाका कार्यक्रम अधिकृत जय तिम्सिनाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *