झापा । झापा गोल्डकपले डोमालाल राजवंशी रंगशालाका जग्गादाता डोमालाल राजवंशीको शालिक र उनको परिवारलाई घर बनाइदिने भएको छ । दाता डोमालाल र दाता राजवंशी परिवारलाई उपेक्षा गरेको गुनासोसहित विभिन्न माग भएको ज्ञापनपत्र राजवंशी विकास प्रतिष्ठानले झापा गोल्डकप आयोजक समिति र बिर्तामोड नगरपालिकालाई यसअघि बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएका मागहरूप्रति सकारात्मक देखिएको झापा गोल्डकपले डोमालालको शालिक र घर बनाइदिने तत्परता देखाएको हो ।
स्व. डोमालालको परिवारलाई घर निर्माणका लागि झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । जग्गादाता राजवंशी परिवारको घर बनाउनका लागि अध्यक्ष बस्नेतले ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । अध्यक्ष बस्नेतले सामाजिक सञ्जालमा सहयोगको घोषणा गरेसँगै अन्य धेरै सहयोगी मनहरूले स्वतःस्फूर्त सहयोग गर्ने प्रतिबद्धता जनाइरहेका छन् । युवा व्यवसायी राजीव तेघ्रे धिमालले आफ्ना स्वर्गवासी पिता नरेशमान धिमालेको स्मृतिमा १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
यसैगरी, अर्का युवा व्यवसायी किरण श्रेष्ठ, समिल राईले पनि राजवंशी परिवारको घर बनाउनका लागि २५–२५ हजार सहयोग गर्ने वचन दिएका छन् । अध्यक्ष बस्नेतको अभियान सफल बनाउन चौतर्फी सहयोगी हातहरू अघि बढेका छन् । यसैबीच, अध्यक्ष बस्नेतकै अभियानमा जोडिँदै सुधा कुमार र रविन श्रेष्ठले जनही ५१–५१ हजार, सञ्चारकर्मी गणेशमान र इन्द्रजित मुखियाले ११ हजार, भूमिका लिम्बूले ११ हजार सहयोग गर्ने घोषणा गरेका छन् । यस्तै, राजवंशी परिवारको घर निर्माणमा लाग्ने झ्याल बिर्तामोडको क्षमादेवी युपीभीसीका सञ्चालक गणेश पौडेलले सहयोग गर्ने वचन दिएका छन् । सहयोगीहरू अभियानमा जोडिँदै अहिलेसम्म ७ लाख रुपैयाँ आर्थिक सहयोगको प्रतिबद्धता भइसकेको अध्यक्ष बस्नेतले बताए । उनका अनुसार घर निर्माणमा लाग्ने १० लाखभन्दा बढी रकम संकलन गरिने छैन ।
यसैबीच गोल्डकपले स्व. डोमालालको स्केच सार्वजनिक गरेको छ । सोही स्केचका आधारमा डोमालालको शालिक निर्माण गरिने अध्यक्ष बस्नेतले बताए । डोमालालको संगमरमरको सुन्दर शालिक आफ्नो नेतृत्वमा निर्माण गरिने उनले जानकारी दिए । झापा गोल्डकपले छैठौं गोल्डकपको उद्घाटनका दिन डोमालालको परिवारलाई १ लाख रुपैयाँ सहयोग गरेको थियो । समाजसेवी विवेक प्रसाईँ र सङ्गीता प्रसाईँद्वारा उपलब्ध गराइएको एक लाख नगद राजवंशी परिवारलाई प्रदान गरिएको अध्यक्ष बस्नेतले बताए । उनले झापा गोल्डकपको बजेटबाट एक लाख रुपैयाँ सहयोग गर्न अपुग भएपछि सहयोगी खोजी गरी डोमालालका नाति भीम राजवंशीलाई रकम प्रदान गरिएको बताए । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चेक हस्तान्तरण गरेका थिए । डोमालालकी छोरी सम्पत्तिको गुजाराका लागि थप नगद सहयोग गरिने अध्यक्ष बस्नेतले जानकारी दिए ।
यसअघि झापा गोल्डकपले जग्गादाता डोमालालको परिवारलाई २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । गत फागुन ८ गते राजवंशी विकास प्रतिष्ठानको अगुवाइमा दाता डोमालालकी छोरी सम्पत्ति र नातिनी बुहारी ललिता राजवंशीको उपस्थितिमा झापा गोल्डकप र बिर्तामोड नगरपालिकालाई चारबुँदे ज्ञापनपत्र बुझाइएको थियो ।
ज्ञापनपत्रमा डोमालाल राजवंशीको परिवारको निम्न अवस्थाका कारण कम्तीमा पाँच लाख रुपैयाँ उपलब्ध गराउनु पर्ने, जग्गादाता डोमालाल राजवंशीको शालिक निर्माण गरिनु पर्ने , डोमालाल राजवंशी रंगशालासंग सम्बन्धित गोल्डकप आयोजक समिति, संरक्षण समितिलगायतका समितिहरूमा दाता परिवारका एक जना सदस्य र राजवंशी समुदायको प्रतिनिधित्व हुनुपर्ने र डोमालालको परिवारले चर्चेको जग्गा उनीहरूकै स्वामित्वमा हस्तान्तरण गरिनु पर्ने उल्लेख गरिएको थियो । डोमालाल राजवंशीले रंगशाला भएको ठाउँमा करिब १३ विगाहा जग्गा दान दिएका थिए । अहिले भूमिहीन बनेका डोमालालकी छोरी सम्पत्ति , नातिहरू भीम र छवि राजवंशी रंगशालाको पश्चिमपट्टि झुप्रो बनाएर बसेका छन् । उनीहरू मजदूरी गरी गुजारा गर्दै आएका छन् ।