झापा । झापाको विर्तामोडस्थित डोमालाल राजबंशी रंगशालामा फागुन १९ गतेदेखि जारी छैठौं झापा गोल्डकपको फाइनल खेल आज हुँदैछ । आज दिउँसो फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लवबीच प्रतिस्पर्धा हुँदैछ ।
फाइनल खेलमा दुवै टिमले उपाधि हात पार्ने दाबी गरेका छन् । आइतबार प्रि–म्याच कन्फ्रेसमा चर्च ब्वाइजका टिम कप्तान दीप कार्की र कोच रोबिन राईले फाइनलको उपाधि हात पार्ने दाबी गरेका थिए भने एपीएफ एफसीका टिम म्यानेजर सुशील अधिकारी र क्याप्टेन हरि कार्कीले पनि उपाधि आफ्नो टिमले जित्ने दाबी गरेका छन् ।
यसअघिका पाँच संस्करणमा सहभागी भएको एपीएफ एफसी फाइनलमा पुगेको यो पहिलो पटक हो । सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड भने पहिलो पटक सहभागी भएको प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो ।
प्रि–म्याच कन्फ्रेसको सहजीकरण म्याच कमिस्नार केशवराज दाहालले गरेका थिए । कन्फ्रेसमा झापा गोल्डकपका बिषयमा उठेका प्रश्नको जवाफ अध्यक्ष बिनोद बस्नेत र महासचिव गजेन्द्रबहादुर पौडेलले दिएका थिए ।
झापा गोल्ड कपको बिजेताले रु. १३ लाख नगद पुरस्कार, आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेताले रु. ७ लाख पाउने छ । फाइनलमा उत्कृष्ट खेलाडीले जनही रु. २५ हजार बिधागत पुरस्कार पाउनेछन् ।