झापा । तेह्र वर्षदेखि देशका विभिन्न प्रतिभालाई यथेष्ठ नगदसहित सम्मान गर्दै आएको रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाले यो वर्षको श्रीप्रसाद ओली स्मृति राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार आँखारोगका विशेषज्ञ चिकित्सक डा. सन्दुक रुइतलाई प्रदान गर्ने भएको छ ।
५ लाख रुपैयाँ राशिको उक्त पुरस्कार पाउने रुइत दोस्रो प्रतिभा हुन् । प्रतिष्ठानले यसअघि नेपाल राष्ट्रबैंकका प्रथम गभर्नर हिमालय शमशेर जबरालाई यो पुरस्कार प्रदान गरेको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए ।
ओलीकै अध्यक्षतामा आज झापाको भद्रपुरमा पत्रकार सम्मेलन गरी पुरस्कार सम्मानका बारेमा जानकारी गराइएको हो । प्रतिष्ठानका सचिव नारायणप्रसाद ओलीले सञ्चालन गरेको पत्रकार सम्मेलन ओली वंश समन्वय समितिका केन्द्रीय अध्यक्ष उमेशचन्द्र ओलीको प्रमुख आतित्यमा आयोजना गरिएको थियो ।
प्रतिष्ठानले देवी ओली स्मृति राष्ट्रिय बाल प्रतिभा पुरस्कार झापा बुद्धशान्ति गाउँपालिका १ का बाल वैज्ञानिक १७ वर्षीय सविन बाँस्कोटालाई दिने भएको छ । पुरस्कारको राशि १ लाख १ हजार १ सय ११ रुपैयाँ छ ।
आगामी बैशाख ४ गते भद्रपुरमा आयोजना हुने विशेष समारोहबीच कोशी प्रदेशका प्रमुख परशुराम खापुङले डक्टर रुइत र बास्कोटालाई सम्मानित गर्ने भएका हुन् ।
२०११ भदौ १९ गते ताप्लेजुङको ओलाङ्चुङगोलामा जन्मिएका रुइत आँखामा हुने मोतियाविन्दु रोगको उपचार चिकित्सा पद्धति ’रुइतेक्टोमी’का प्रवर्तक हुन् भने बालप्रतिभा पुरस्कार प्राप्त गर्न लागेका १७ वर्षीय बाँस्कोटाले रोबर्ट, ड्रोन, मोटरसाइल इलेक्ट्रोनिक सामान निर्माण गरेका छन् ।
प्रतिष्ठानले २०६७ सालदेखि कृषि, साहित्य, पत्रकारिता, महिला सशक्तीकरण, बालबालिकाका क्षेत्रलाई समेट्दै विभिन्न विधामा पुरस्कृत गर्दै आएको छ ।