‘हामी उपभोक्ताको अधिकार कुण्ठित हुन दिँदैनौं ः सन्तोष आचार्य

झापाको सुदूर पूर्वी क्षेत्रमा रहेको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचन यहि जेठ २६ गते शनिबार हुँदैछ । पार्टीगत रुपमा हेर्दा निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टी प्रगतिशील समाजवादी प्यानल खडा गरी सन्तोष आचार्यको नेतृत्वमा चुनावी मैदानमा छन् । सो प्यानलबाट अध्यक्ष पदका उम्मेद्वार सन्तोष आर्चायसँग सञ्चारकर्मी प्रकाश पौडेलले गरेको चुनावी वार्ता ः

तपाईं चुनावी मैदानमा हुनुहुन्छ, यसलाई कसरी लिनु भएको छ ?

यो खानेपानी संस्था अविछिन्न उत्तराधिकारवाला संस्था हो । यो अन्य संघ–संस्थाभन्दा अलि बढी संवेदनशील, फरक र विशेषखालको संस्थाको पनि हो । किनकि, यसले मानिसको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ । संस्थाको नेतृत्वमा गएपछि जीवन जिउनको लागि अति आवश्यक महत्वपूर्ण पानी वितरणको कुरा छ । यो चानचुने कुरा होइन । अहिले उम्मेद्वार भएर मत मागिरहँदा म निक्कै संवेदनशील र सजग भएर अघि बढेको छु ।

यस क्षेत्रका खानेपानीका चुनौती के–के छन् ?

मुलतः आधारभूत वर्गलाई स्वच्छ खानेपानी पुर्याउनु अहिलेको मुख्य चुनौती छ । पानी अनिवार्य शर्त हो, समाजमा आफ्ना हरेक आवश्यकताका लागि मूल्य चुकाउने एउटा वर्ग छ । हाम्रै समाजमा अर्को यस्तो वर्ग छ, जसले खानेपानीको समेत मूल्य चुकाउन सकिरहेको छैन । उसले खानेपानीसमेत पाउन सकिरहेको छैन त्यसैले हुनेसँग लिने र नहुनेलाई दिने हो भने यसको समाधान सम्भव छ । यो एउटा समाजवादी मोडल पनि हो । यसलाई कसरी मिलाउने भन्ने कुरा अबको नेतृत्वको चुनौती छ । यही मोडलअनुसार हामी अघि बढ्छौँ भन्ने लागेको छ ।

तपाईंका चुनावी एजेण्डा के–के छन् ?

मैले मुलतः तीनवटा काम गर्ने भनेको छु । पानीको उत्पादनमा बृद्धि, गुणस्तरमा नियन्त्रण र सेवामा विस्तार, आन्तरिक प्रशासनसँग सम्बन्धित जनमुखी सेवा र आर्थिक पारदर्शितासहितको सुशासनलाई हामी कार्यान्वयन गराउने छौँ ।

तेस्रो कुरा उपभोक्ता शिक्षाको अभाव देखिन्छ । भोट केका लागि दिने ? किन दिने ? जस्ता कुरा उठ्ने गरेका छन् । मतदातालाई शिक्षित गर्ने एउटा महत्वपूर्ण अभियान हामी सामु छ भने सदस्यहरुको स्वास्थ्य र सरसफाइलाई उत्तिकै प्राथमिकतामा राखेका छौँ । हामीले घोषणापत्रमा समेत धेरै कुरा समेटेका छौँ ।

तपाईंले आफ्नो प्रतिस्र्धीलाई कसरी हेर्नु भएको छ ?

उहाँ मेरो दाइ हुनुहुन्छ । उहाँ मेरो प्रतिस्पर्धी नभएर शालीन, भद्र र पुरानो काँकरभिट्टाबासी हुनुहुन्छ । म उहाँलाई सम्मान गर्छु ।

खानेपानी उपभोक्ता समितिलाई मेचीनगरले प्राधिकरण बनाउने कुरा छ नि ? तपाईंको बुझाइमा के यो सकारात्मक कार्य हो ?

नगरपालिकाले प्रदान गर्ने सेवा कत्तिको गज्याङ छ, तपाईं–हामीलाई थाहा भएकै कुरा हो । सरकारी सेवा नेपालमा कहीँ–कतै प्रभावकारी भएको हामीले सुनेका छैनौँ र त्यो सम्भव पनि छैन । नगरपालिकाले खानेपानी संस्थाहरुलाई नियन्त्रण गर्न र आफ्नो मातहतमा ल्याउन खोज्छ भने त्यसबेला जनताले स्वच्छ खानेपानी पाउनबाट बन्चित हुने निश्चित छ । शुक्रबार पाइप फुट्यो भने आइतबारसम्म पर्खनुपर्ने हुन सक्छ । हामी जनताको, उपभोक्ताको अधिकार कुण्ठित हुन दिँदैनौँ । खानेपानी संस्थालाई नगरको मातहतमा ल्याउने काम गलत हुन्छ । हामी त्यसो हुन दिँदैनौँ । यो उपभोक्ताले नै चलाउनु पर्छ ।

अन्त्यमा केही भन्नु छ ?

चुनावी मैदानमा छौं । स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ । म त विचारले पनि प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने मान्यता राख्छु । कटु लोकप्रियताका लागि कुनै पनि कुरा गर्नु हुँदैन । उम्मेदवारहरु संवेदनशील हुनुपर्छ । जीवनसँग जोडिएको विषय भएकाले क्षमतावान व्यक्तिलाई नेतृत्वमा पठाऔँ । त्यो सिक्नलाई जाने ठाउँ होइन, काममा दक्षता भएका र अनुभवी व्यक्तिहरु त्यहाँ पुग्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *