झापा । झापामा मिस्टर झापा बडी बिल्डिङ प्रतियोगिता हुने भएको छ । फस्ट स्टेप फिटनेशनको आयोजनामा झापामा १७ वर्षपछि आगामी असोज १९ गते मिस्टर झापा हुने भएको हो ।
बिर्तामोडमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी बारे जानकारी दिइयो । आयोजक समितिका अध्यक्ष सुवास मेचेले झापामा रहेका शारीरिक सुगठनका खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।
‘१७ वर्षअघि मैले ट्रफी उचालेयता मिस्टर झापा हुन सकेको छैन’, उनले भने– ‘जिल्लामा रहेका खेलाडीलाई प्रोत्साहनका लागि प्रतियोगिता गर्न लागेका छौँ, आशा छ, सैको साथ–सहयोग रहनेछ ।’ विभिन्न पाँचवटा तौल समूहमा हुने प्रतिस्पर्धाबाट मिस्टर झापा छनोट गरिनेछ ।
प्रतियोगिताको विजेतालाई मिस्टर झापाको उपाधिसहित एक लाख ५१ हजार, उपविजेतालाई एक लाख एक हजार पुरस्कार प्रदान गरिनेछ । बेस्ट पोजर, बेस्ट मस्कुलरलगायतका विधामा समेत खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न १५ लाख खर्च हुने अनुमान गरिएको आयोजक समितिका सचिव माधव झाले जानकारी दिए । प्रतियोगतामा मिसन विर्तामोडको सहकार्य रहने छ ।