साइकल पर्यटनलाई बढावा दिन झापामा कोरा साइक्लिङ च्यालेन्ज

सौम्य शर्मा

झापा । साइकल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले झापामा आज ‘झापा कोरा साइक्लिङ च्यालेञ्ज’ प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा पूर्वी नेपालका २०२ जनाले सहभागिता जनाएका छन् ।

५० किलोमिटरको साइकल राइडमा नेपालीहरुलाई साइकल पर्यटन बारे अझ धेरै जानकारी होस् भनेर २०२ जना साइकल राइडरले यात्रा पूरा गरेका थिए ।

प्रत्येक वर्ष जुलाई महिनाको तेस्रो शनिबार वार्षिक रुपमा कोरा साइक्लिङ च्यालेन्ज हुँदै आएको राइडका संयोजक आकाश श्रेष्ठले जानकारी दिए ।

झापाको विर्तामोडबाट निस्किएको साइक्लिङ अर्जुनधाराको अर्जुनधारा जलेश्वरधामको एक फन्को लगाएर शनिश्चरे–जयपुर–बुधबारे–मागुरमाडी वन–धुलाबारी–धाइजन–पीपलडाँगी–कालीझोडा–सालबारीको बाटो हुँदै विर्तामोडमा आएर टुंगिएको थियो ।

प्रतियोगिताका लागि प्याक एन्ड पेडल, बिर्तामोड आँखा अस्पताल, इस्टोर्स, रोयल रत्न होटल, डोको रिसोर्ट, रोट्र्यक क्लब अफ बिर्तामोड, इन्द्रेणी ब्यांक्वेट, गोमेन्द्र बिर्ता मोडल स्कुल, मानिया, मनकामना आइसक्रिम, आश्विन फर्मा, देही आर्ट, पाथिभरा स्विट्स र बुद्धशान्ति राइडर्सको सहयोग रहेको संयोजक श्रेष्ठले बताए ।

तिब्बती बौद्ध धर्ममा ‘कोरा’ भनेको भगवानलाई सम्मान देखाउन गरिएको कुनै पनि मन्दिरको घडीको घुमाउरो परिधि हो । ‘कोरा’ शब्द बौद्ध धर्मबाट आएको भए पनि हिन्दुहरूले समेत आफूले पार गरेको मन्दिरको परिक्रमा गर्छन् ।

यात्रामा ७ वर्षदेखि ६३ वर्षसम्मका राइडरले सहभागिता जनाएका थिए । सहभागी सबैलाई मेडल प्रदान गरिएको थियो ।

साइक्लिस्ट शरद जोशीका अनुसार झापा कोरा साइक्लिङ च्यालेन्ज २०२४ मार्फत ‘गिफ्ट अ भिजन’ कार्यक्रमबाट विपन्न १० जनालाई निःशुल्क आँखाको शल्यक्रियाका लागि सहयोग गर्न कोष संकलन गरिएको छ । कोषमा ८० हजार रुपैयाँ संकलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *