झापा । आर्थिक ऐन २०८१ मा भएका व्यवस्थाका विषयमा आन्तरिक राजश्व कार्यालय भद्रपुर जिल्लाका उद्योगी–व्यवसायीबीच अन्तरक्रिया गरेको छ ।
कार्यालयकै सभाहलमा आज दिउँसो आयोजना गरिएको अभिमुखीकरण एवम् अन्तरक्रियात्मक कार्यक्रममा प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले भरखरै आएको आर्थिक ऐनमा भएका व्यवस्थाहरुका बारे सहभागी उद्योगी–व्यवसायीलाई जानकारी गराउँदै ऐनले करदाताका लागि विभिन्नखाले छुटको व्यवस्था गरेको बताए ।
कार्यक्रममा प्रमुख कर अधिकृत काफ्लेले सरकारले करको दरभन्दा पनि दायरा फराकिलो बनाउने उद्देश्यका साथ उद्योग–व्यवसाय दर्ता गरेर लामो समयदेखि नविकरण नगरिरहेका करदातालाई विशेष छुटको व्यवस्था गरेर आफ्नो व्यवसायलाई पुनर्जीवन दिने मौका आर्थिक ऐन २०८१ मार्फत प्रदान गर्न चाहेको स्पष्ट पारे । उनले यो मौकाको फाइदा उठाउन र यस बारे सबै उद्यागी–व्यवसायीलाई अवगत गराउन कार्यक्रममा सहभागी उद्योग–व्यवसाय क्षेत्रका नेतृत्वलाई आग्रह पनि गरे ।
कार्यक्रममा सहभागी जिल्लाका उद्योग–वाणिज्य संघहरु, होटल व्यवसायी संघ, हार्डवेयर व्यवसायी संघका पदाधिकारी–सदस्यहरुले करका झञ्झटिला प्रक्रियाहरुले उद्योगी–व्यवसायीहरुलाई सधैं अप्ठ्यारोमा पार्ने गरेको गुनासो गर्दै प्रक्रियाहरुलाई सरल बनाउनुपर्नेमा जोड दिए । उनीहरुले खुला सीमाका कारण कतिपय व्यावहारिक कठिनाइलाई पनि ध्यान दिनुपर्ने बताउँदै करदाता शिक्षा कार्यक्रमलाई व्यापक बनाउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा झापा उद्योग वाणिज्य संघका विशिष्ट सदस्य खड्क लिम्बू, पूर्व उपाध्यक्ष गोविन्दप्रसाद पौडेल, सदस्य रुद्रप्रसाद चापागाईं, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष दीपक सापकोटा, वाणिज्य सचिव ज्ञानु थापा, होटल व्यवसायी संघ झापाका महासचिव शिवराज पौडेल, हार्डवेयर व्यवसायी संघका शिव कोइराला, सञ्चारकर्मी माधव विद्रोहीलगायतले सुझाव राखेका थिए ।
कार्यक्रममा कर अधिकृत चिरञ्जीवी काफ्लेले आर्थिक ऐन २०८१ का प्रावधानहरुका बारे प्रस्तुति दिएका थिए ।