उद्यमी मित्तलद्वारा कृष्ण प्राविका विद्यार्थीलाई स्विटर वितरण

झापाको मेचीनगर नगरपालिका–१४ प्रणामी नगरमा रहेको श्री कृष्ण प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । मेचीनगर–१३ मा रहेको मित्तल एग्रो प्रा.लि.का सञ्चालक मोहनकुमार मित्तल र दिपेन्द्रकुमार अग्रवालले विद्यालयमा अध्ययनरत ८५ जना बालबालिकालाई जाडोमा लगाउने न्यानो कपडा स्विटर वितरण गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल ढुङ्गानाको पहलमा मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष मित्तल र अग्रवालसहित मित्तिलकी दिदी विमलादेवी गोयल र छोरा नियल मित्तलले बालबालिकालाई स्विटरसहित मिठा वितरण गरेका थिए ।

कार्यक्रममा दाता मित्तलले आफूले विपन्न परिवारका विद्यार्थीका लागि स्विटर वितरण गर्न पाउँदा खुसी लागेको बताए । उनले आफ्नो परिवारले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सहयोगका काम गर्दै आएको पनि बताए ।

सो विद्यालयमा कक्षा नर्सरीदेखि ५ सम्म १०३ जना विद्यार्थी छन् भने एकजना शिक्षक र ७ जना शिक्षिका कार्यरत रहेको विद्यालयका प्रधानाध्यापक सीताराम थापाले जानकारी दिए ।

कार्यक्रममा पूर्व विद्यार्थी समूहका अध्यक्ष मिलन शिवाकोटी, मेचीनगर–१४ का कार्यवाहक वडाध्यक्ष दीपक सुवेदी, वडा सदस्य लाल महमद, अभिभावक माधव प्याकुरेललगायतको उपस्थिति थियो ।
सोही कार्यक्रमका बीच मित्तललाई उनले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै विद्यालयले प्रशंसापत्रसमेत प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *