झापाको विर्तामोडमा आजदेखि अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु

झापाको प्रमुख व्यापारिक शहर विर्तामोडमा आजदेखि अन्तर्राष्ट्रिय औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव सुरु भएको छ ।

आज दिउँसो एक समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गरे । उनले व्यापार प्रवद्र्धन र उद्यमशीलताका लागि प्रदेश सरकार सदैव सकारात्मक रहेको बताए ।

समारोहमा कोशी प्रदेशका खानेपानी सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले महोत्सवले सुस्ताएको बजारलाई चलायमान बनाउन मद्धत पुग्ने आशा व्यक्त गरे ।

संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटीले उद्योगी व्यवसायीलाई सहज हुने वातावरण तयार गर्न सरकारसमक्ष माग गरे । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्बर एण्ड कमर्सका उपाध्यक्ष चण्डिराज ढकालले व्यवसाय प्रर्वद्धनका लागि सरकारका तीन वटै तह जिम्मेवार हुनु पर्ने बताए ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा आयोजित महोत्सव उद्घाटन सत्रमा बिर्तामोड नगरप्रमुख पवित्रा महतरा प्रसाई ,नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्य उमेश डालमिया, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उद्घाटन समारोहमा महोत्सव मूल आयोजक समिति संयोजक विशाल थापाले स्वागत मन्तव्य राखेका थिए । त्यसअघि संघको कार्यालयबाट विभिन्न झाँकीसहित नगर परिक्रमा गर्दै महोत्सवस्थल पुगेको थियो ।

बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यपार महोत्सवलाई एपोलो पेन्ट्सले मुख्य प्रायोजन गरेको महोत्सव अनुगमन समिति संयोजक गोमा भट्टराईले जानकारी दिइन् ।

व्यापार, कृषि, उद्यमशीलता, पर्यटन र स्वरोजगारको क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजक विर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ । माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा १७० वटा व्यावसायिक स्टल रहेका छन् । खेल सामग्री, फुडकोर्ट, सेल्फीजोन समेत रहेको महोत्सव अवधिभर ख्यातिप्राप्त कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले जानकारी दिए ।

वर्तामोड– ५ स्थित धर्मकाँटा रोडमा आयोजना गरिएको महोत्सवमा नेपालकै सबैभन्दा ठूलो ह्याङ्गर प्रयोग गरिएको व्यवस्थापक ललित सिंखडाले बताए ।

महोत्सवले अलैंची, अदुवा, कुचो, सुपारी, मसलाजस्ता नेपाली कृषिजन्य वस्तुको केन्द्रीय बजार बिर्तामोडमा आयोजना गरिएको यो महोत्सवले कृषि उद्यम र कृषि व्यापारलाई थप प्रवद्र्धन गर्ने विश्वास गरिएको छ । महोत्सवमा भारत, भूटान, वंगलादेश, पाकिस्तानसहित सार्क मुलुकका उत्पादनहरु पाइने जनाइएको छ । अध्यक्ष न्यौपानेका अनुसार महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकलाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । विद्यालय पोशाकमा महोत्सव अवलोकन गर्न आउने विद्यार्थीलाई पनि शिक्षकको रोहवरमा प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *