भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करणमा भाग्यशाली दर्शकले मोटरसाइकल पाउने

झापा । दोस्रो संस्करणको सौर्य एअर ओम साई पाथीभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट लिएर प्रतियोगिता हेर्न आएका दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दीपेश ढकालले बताए ।

यही फागुन ७ गतेदेखि १६ गतेसम्म भद्रपुरस्थित मेची रंगशालामा आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका आधारमा लक्की ड्रमार्फत मोटरसाइकल पाउने ढकालले जानकारी दिए ।

त्यस्तै, प्रिक्वार्टर, क्वार्टर र सेमिफाइनलका खेल हेर्न टिकट लिएर आएका दर्शकलाई बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले हिमस्टार एलइडी टिभी प्रदान गर्नेछ ।

प्रतियोगितामा विभागीयसहित नेपालका छवटा ए डिभिजन क्लब, भुटान र बङ्गलादेशका एक÷एक टिम तथा झापा ११ र आयोजकको भद्रपुर ब्लेजर्सको सहभागिता रहने तय भएको महासचिव जीवनकुमार श्रेष्ठले बताए ।

२०७९ मा पहिलो संस्करणमा निकै ठूलो चर्चा र प्रशंसा बटुलेको भद्रपुर झापा गोल्डकप दोस्रो संस्करण अझ भव्य र थप परिष्कृत हुने गरी तयारी गरिएको वरिष्ठ उपाध्यक्ष आदित्य पराजुलीले जानकारी दिए । त्यसका कार्यसमितिको आज सम्पन्न बैठकले विभिन्न उपसमिति गठन गरेको पनि पराजुलीले बताए ।

अहिले मैदान व्यवस्थित गर्ने र रङरोगनका काम भइरहेका छन् भने प्रायेजक, सहप्रायोजकका लागि झापा र झापाबाहिरका उद्योग–प्रतिष्ठान, स्वास्थ्य तथा निजी शैक्षिक प्रतिष्ठानहरुले निकै चासो दिइरहेको सह कोषाध्यक्ष अजय साहेवालाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *