झापा । भद्रपुर जेसीजमा वर्ष सन् २०२५ को कार्यसमितिले बुधबारदेखि पदभार सम्हालेको छ ।
भद्रपुर–८, सगरमाथास्थित होटल डे–ग्लोको सभाहलमा कोशी प्रदेशका सिँचाइ, उर्जा तथा जलस्रोत मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा आयोजित ४९ औं पद हस्तान्तरण समारोहका बीच वर्ष २०२४ का अध्यक्ष टिकाराम पाण्डे ‘दिपक’ले वर्ष २०२५ का अध्यक्ष सैलेश श्रेष्ठलाई पद हस्तान्तरण गरेका हुन् ।
वर्ष २०२४ का महासचिव सरोज ढकालले सञ्चालन गरेको समारोहमा भद्रपुर जेसीजका पूर्व अध्यक्षहरुले वर्ष २०२४ का अध्यक्ष पाण्डेको गलामा रहेको जेसीज चेन खोलेर २०२५ का अध्यक्ष श्रेष्ठलाई लगाइदिएका थिए । समारोहमा २०२४ का अध्यक्ष पाढडेले आफ्नो एकपर्षे कार्यकालमा भएका सामाजिक गतिविधिका समीक्षासहित विदाइ मन्तव्य व्यक्त गरेका थिए भने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो बोर्डका पदाधिकारी–सदस्यहरुको नाम घोषणासहित प्रतिबद्धता मन्तव्य राखेका थिए ।
सोही समारोहमा भद्रपुर जुनियर जेसीजको पनि पद हस्तान्तरण भएको थियो । वर्ष २०२४ का अध्यक्ष आरोग्य तिम्सिनाले २०२५ का अध्यक्ष सनम सशांकरलाई पद हस्तान्तरण गरेका थिए ।
भद्रपुर जेसीज सन् २०२४ का उपाध्यक्ष हेडम्बराज निरौलाले जेसीज आस्था वाचन गरेको सोही समारोहमा भद्रपुरलाई कर्मथलो बनाएर पछिल्लो ६ दशकदेखि पत्रकारिता र साहित्यको माध्यमबाट समाज र राष्ट्रका लागि योगदान पुर्याउँदै आएका अग्रज पत्रकार तथा साहित्यकार नकुल काजीलाई वर्ष उत्कृष्ट नागरिक सम्मान प्रदान गरिएको थियो । सन् २०१९ का अध्यक्ष अनुज खतिवडाले आफ्ना पिता कृष्णप्रसाद खतिवडाको स्मृतिमा स्थापना गरेको सो सम्मान प्रमुख अतिथि मन्त्री कार्की, प्रदेशसभा सदस्य तथा राज्यमन्त्री भूमिप्रसाद राजवंशी, प्रदेशसभा सदस्य छविलाल चूडाल, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले सम्मानित काजीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । सम्मानको राशि ११ हजार रुपैयाँ रहेको छ ।