झापामा विर्तामोड सञ्जीवनी इन्भेष्टमेन्ट कम्पनी सञ्चालनमा

झापा । झापामा एउटा इन्भेस्टमेन्ट कम्पनी सञ्चालनमा आएको छ । विभिन्न क्षेत्रका ११४ जनाले मिलेर झापाको बिर्तामोडमा बिर्तामोड सञ्जीवनी इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेका हुन् ।

देशका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त उद्यमी, व्यवसायी, प्राध्यापक तथा वित्तीय क्षेत्रमा अनुभवी व्यक्तिहरुको समूह मिलेर कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयमा बिर्तामोड संजीवनी इन्भेष्टमेन्ट कम्पनी लिमिटेड नाम कम्पनी दर्ता गरी सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष यामकुमार चुडालले जानकारी दिए ।

कम्पनीको उद्घाटन आज कोशी प्रदेश सरकारका खानेपानी ,सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्कीले गर्ने भएका छन् । कम्पनीको मुख्य कार्यालय बिर्तामोड–४ स्थित भद्रपुर रोडमा रहेको अध्यक्ष चुडालले जानकारी दिए । कम्पनीको अधिकृत पूँजी २० करोड, जारी पूँजी ६ करोड ६० लाख र चुक्ता पूँजी ५ करोड २८ लाख रहेको उनले बताए । आगामी वर्षहरुमा राइट शेयर र आईपीओमार्फत कम्पनीको पूँजी वृद्धि गर्दै लैजाने र कम्पनीलाई सवल र सक्षम बनार्इ पूर्वको एक स्थापित कम्पनी बनाउने लक्ष्य लिइएको चुडालको भनाइ छ ।

बिर्तामोड सञ्जीवनी इन्भेष्टमेन्ट कम्पनीले बैंक तथा वित्तीय संस्थाका साथै बैंक तथा विभिन्न कम्पनीबाट निष्काशित शेयर एवम् अन्य मुनाफामूलक क्षेत्र, जग्गा–जमिन, हाउजिङ परियोजना, अपार्टमेन्ट तथा व्यापारिक कम्प्लेक्स, भौतिक पूर्वाधार निर्माण, ठेक्का–पट्टा, जलविद्युत् परियोजना एवम् विकासका परियोजनाहरुर्, आयात–निर्यात, शैक्षिक, स्वास्थ्य, हस्तकला, सुरक्षा, अनुसन्धान, बजार प्रवर्द्धनलगायतका क्षेत्र, कृषिसँग सम्बन्धित क्षेत्रमा लगानी गर्ने, विभिन्न संघ–संस्था, कम्पनी तथा अन्य संगठित संस्थाहरुले माग गर्ने बोलपत्रमा सहभागी हुनेलगायतका कम्पनीको उद्देश्य रहेको कम्पनी सचिव दिनेशकुमार सुवेदीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *