झापा । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि ८० करोड ५ लाख २८ हजार रुपैयाँबराबरको अनुमानित बजेट प्रस्ताव गरेको छ ।
सोमबार भद्रपुर नगरपालिकाको १६ औं नगरसभामा उपप्रमुख राधा कार्कीले सो बजेट प्रस्तुत गरेकी हुन् । यो बजेट चालु आर्थिक वर्षको भन्दा कम हो ।
उपप्रमुख कार्कीले सभामा प्रस्तुत गरेको बजेटमा संघीय राजस्व बाँडफाँडबाट रु. १२ करोड ३३ लाख ५० हजार, स्थानीय राजस्व बाँडफाँडबाट रु. ४ करोड, प्रदेश राजस्व बाँडफाँडबाट रु. ९८ लाख २१ हजार, आन्तरिक स्रोत रु. ७ करोड, संघीय वित्तीय हस्तान्तरणबाट रु. ५१ करोड १० लाख, प्रदेश वित्तीय हस्तान्तरणबाट रु. ४ करोड ६३ लाख ५७ हजार आय अनुमान गरिएको छ ।
नगरपालिकाको कार्यालय प्रशासनिक खर्चमा रु. १४ करोड विनियोजन गरिएको छ । यसभित्र वडा, स्वास्थ्य कार्यालय, नगरपालिका कार्यालयमा कार्यरत कर्मचारीहरूको तलवभत्ता लगायत अन्य प्रशासनिक खर्च समावेश गरिएको छ ।
त्यस्तै, वडागत सिलिङतर्फ प्रत्येक वडालाई एक करोड एक लाखको दरले कुल १० करोड ८ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसबाट पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, खानेपानी, लक्षित वर्ग, सीमान्तकृत वर्ग, आदिवासी जनजाति, महिला, बालबालिका, दलित, मुस्लिम लगायतका विषयहरू वडाबाटै सम्बोधन हुने अपेक्षा राखिएको छ ।
नगरबाट हुने नगरस्तरीय आयोजना, विगतका कार्यक्रमको निरन्तरता, सम्पन्न हुन नसकेका योजना कार्यक्रम समेतलाई मध्यनजर गरी यस्ता योजना कार्यक्रमतर्फ रु. ११ करोड बजेट खर्च प्रक्षेपण हुने गरी व्यवस्था गरिएको उपप्रमुख कार्कीले बताइन् । त्यस्तै सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पशु, रोजगार प्रवद्र्धन, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लक्षित वर्गको हित प्रवद्र्धन साथै रोजगार तथा उद्यमशीलता विकास र विस्तार कार्यक्रमका लागि रु. १४ करोड ५६ लाख विनियोजन गरिएको छ ।
सभाको अध्यक्षता गरेका नगरप्रमुख गणेश पोखरेलले आगामी आ. व.को नीति तथा कार्यक्रम प्रस्तुत गरे । उनले शिक्षा, खेलकुद, कृषि, रोजगार प्रवद्र्धन, पर्यटन, पूर्वाधार विकासलाई लक्षित गरी आगामी वर्षको नीति तथा कार्यक्रम तयार गरिएको बताए ।
नीति तथा कार्यक्रम र बजेटमाथिको छलफल जारी छ । हिजो केही नगरसभा सदस्यहरुले जिज्ञासासहित सुझाव राखेका थिए भने आज जिज्ञासा र सुझाव प्रस्तुत गर्ने कार्यक्रम रहेको बुझिएको छ । नगरसभा सदस्यहरुको जिज्ञासाको जवाफ नगरप्रमुख पोखरेल, उपप्रमुख कार्की र प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलालले दिइरहेका छन् । सभामा उठेका जिज्ञासा र सुझाव सम्बोधन गर्दै निित तथा कार्यक्रम र बजेट पारित हुने नगप्रमुख पोखरेलले बताए ।