झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१÷०८२ को ११ महिनामा रु. २ अर्ब ९१ करोडबढी राजस्व संकलन गरेको छ ।
कार्यालयका प्रमुख कर अधिकृति कृष्णचन्द्र काफ्लेका अनुसार कार्यालयले चालु आ.व.को ११ महिनामा विभिन्न शीर्षकमा २ अर्ब ९१ करोड ९८ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको ८५ प्रतिशत हो । भद्रपुर कार्यालयलाई आन्तरिक राजस्व विभागले साउनदेखि जेठ मसान्तसम्ममा ३ अर्ब ४१ करोड ७ लाख ८८ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो ।
प्रमुख कर अधिकृत काफ्लेका अनुसार ११ महिनामा कार्यालयले आयकरतर्फ एक अर्ब २६ करोड ५२ लाख ५४ हजार, मूल्य अभिबृद्धि कर (भ्याट)–तर्फ ९८ करोड २८ लाख ६१ हजार, अन्तःशुल्कतर्फ ५५ करोड १६ लाख ६७ हजार, वहाल करबाट दुई करोड ४५ लाख ३८ हजार, ब्याजवापत आठ करोड १६ लाख ८४ हजारस्वास्थ्य सेवा करवापत ३७ लाख ७१ हजार, शिक्षा सेवा करवापत ३९ हजार र अन्य कर शीर्षकमा एक करोड २२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
कार्यालयले स्वास्थ्य सेवा करतर्फ लक्ष्यभन्दा १२५८३ प्रतिशत बढी राजस्व संकलन गरेको छ भने अन्य कर शीर्षकमा लक्ष्यभन्दा ३१०२ प्रतिशत बढी राजस्व संकलन गरेको काफ्लेले बताए ।
कार्यालयले अघिल्लो वर्षको यही अवधिको तुलनामा ९.२५ प्रतिशत बढी राजस्व संकलन गरेको छ । अघिल्ला आ.व.को पहिलो ११ महिनामा कार्यालयले २ अर्ब ६७ करोड २६ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
स्मरणीय छ, आर्थिक वर्ष ०८०÷०८१ मा राजस्व संकलन र कार्यालयीय व्यवस्थापनमा आन्तरिक राजस्व कार्यालय सर्वोत्कृष्ट भई पुरस्कृत भएको थियो ।