भद्रपुरमा औषधि पसल र क्लिनिकहरुमा अनुगमन

झापाको भद्रपुर नगरपालिकाले आज यहाँका औषधि पसल, प्याथोलोजी र क्लिनिकहरूको अनुगमन गरेको छ ।

भद्रपुर नगरपालिका–८ स्थित प्रादेशिक अस्पताल वरपरका १० वटा औषधि पसल, प्याथोलोजी र क्लिनिकको अनुगमन गरिएको हो ।

भद्रपुर नगरपालिकाकी उपप्रमुख तथा बजार अनुगमन समिति संयोजक राधा कार्की नेतृत्वको टोलीले यहाँस्थित ऋद्धिसिद्धि फार्मेसी, गोमा फार्मेसी, युनिक खरेल फार्मेसी, सिर्जना मेडिकल हल, नेपाल चस्मा घर, भद्रपुर मेडिकल हल, अधिकारी प्याथोलोजी क्लिनिक, एसएस मेडिसिन सेन्टर, मेची मेडिकल डायग्नोस्टिक सेन्टर प्रालि र एनबी डेन्टल क्लिनिकको अनुगमन गरेको हो ।

नगर क्षेत्रमा सञ्चालित औषधि पसलहरूमा म्याद गुज्रेको औषधि राख्ने गरिएको, कम गुणस्तरको औषधि बिक्री वितरण भइरहेको, कतिपय औषधि प्रयोग गरेपछि मात्र म्याद गुज्रेको थाहा पाएको लगायतका गुनासो आएपछि औषधि पसलहरुको अनुगमन गरिएको उपप्रमुख राधा कार्कीले बताइन् ।
भद्रपुरमा नगरपाालिकाले निकै लामो समयपछि औषधि पसलहरुमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा केही औषधि पसलबाट म्याद गुज्रेका औषधि फेला परेको थियो । म्याद गुज्रिएका ती औषधि अनुगमन टोलीले जफत गरेको छ । उनीहरूलाई एक पटकका लागि सचेत गराइएको छ ।

त्यस्तै, अनुगमनका क्रममा केही औषधि पसल, प्याथोलोजी र क्लिनिकले नगरमा व्यवसाय दर्ता–नवीकरण नगरेको, फार्मेसीसँगै क्लिनिक सञ्चालन गरिएको, सम्बन्धित निकायबाट इजाजत नलिएको तथा नवीकरण नगरेको पाइएको छ ।

अनुगमनमा डा. पारिजा सरकार, भद्रपुर नगरपालिकाको बजार अनुगमन समिति सदस्य सचिव सुशील कर्ण, जिल्ला प्रशासन कार्यालय झापाका जीवन पौडेल, स्वास्थ्य कार्यालय झापाका विशाल घिमिरे, झापा उद्योग वाणिज्य संघका प्रतिनिधि दुर्गाप्रसाद खतिवडा, भद्रपुर नगरपालिकाका स्वास्थ्यकर्मी विजय अधिकारी, मनोज भट्टराई, प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकर, पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य सन्तोष शर्मा, विभिन्न संघसंस्थाका प्रतिनिधि, नगरका कर्मचारी, नगर प्रहरीलगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *