झापा । झापाको भद्रपुरमा रचनात्मक कार्यक्रमका साथ आज विश्व मानवता दिवस मनाइएको छ ।
विश्व मानवता दिवसको अवसरमा नेपाल परिवार नियोजन संघ झापा शाखाले आज भद्रपुरमा एक कार्यक्रम सम्पन्न गरेको छ।
भद्रपुर–८ स्थित होटल उडल्याण्डमा आयोजित कार्यक्रममा सार्थक जीवनको लागि मानवीय सेवा र मानव सेवामा योगदान पुर्याउने संघ–संस्थाका बारेमा चर्चा गरिएको थियो।
शाखा प्रमुख कमल सुवेदीले सञ्चालन गरेको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले व्यानर वाचन गरेर गरेका थिए ।

कार्यक्रममा हल्दिबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, गौरादह नगरपालिकाकी उपाध्यक्ष जलवर्षा राजवंशी र नेपाल परिवार नियोजन संघकी केन्द्रीय सदस्य चन्द्रमाया श्रेष्ठ विशिष्ट अतिथिको रुपमा उपस्थित थिए ।
नेपाल परिवार नियोजन संघ झापाका सभापति तोयानाथ गड्तौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा सदस्य बिमला गौतम भट्टराईले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म चन्द्रगढीका तर्फबाट शुभेन्द्रकुमार कर्ण र आयोजक संस्थाका तर्फबाट शाखा प्रमुख कमल सुवेदीले मानवताको लागि संस्थाले गरेका कार्यहरुका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि पोखरेल, हल्दिबारी गाउँपालिका उपाध्यक्ष मैनाली, केन्द्रीय सदस्य श्रेष्ठलगायतले मानवता, सेवा र विपद्को बेलामा मानवीय सहयोगको महत्वका बारेमा मन्तव्य राखेका थिए ।
विश्व मानवता दिवस हरेक वर्ष अगस्ट १९ मा विश्वभर मनाइने गरिन्छ ।
