समाजसेवी दीनबन्धु स्व. दाजुको स्मृतिमा भद्रपुरका विपन्न १२ परिवारलाई घर बनाइदिँदै

झापाको भद्रपुरमा १२ विपन्न आदिवासी परिवारको घर निर्माण शुरु भएको छ ।

समाजसेवी दीनबन्धु गोयलले आफ्ना दाजु स्वर्गीय ओमप्रकाश गोयलको स्मृतिमा आदिवासी समुदायको घर निर्माण गरिदिने भएपछि उनीहरुको घर निर्माण शुरु भएको हो । आज एक कार्यक्रमका बीच भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, वडाध्यक्ष रतिया राजवंशी लगायतले घरको शिलान्यास गर्नुभयो ।

प्रमुख अतिथि नगरप्रमुख पोखरेलले विपन्न समुदायको घर निर्माण सुखद भएको बताउँदै दाताप्रति आभार व्यक्त गर्नुभयो । “भद्रपुरमा विशेष गरी शैक्षिक क्षेत्रमा उहाँले धेरै काम गर्नुभएको छ”, उहाँले भन्नुभयो, “सामाजिक कार्यमा उहाँको यात्रा अविछिन्न रहोस् ।” उपप्रमुख कार्कीले सबै नागरिकले आआफ्नो ठाउँबाट सकेको सामाजिक कार्य गर्नुपर्ने बताउनु भयो ।
टिनको छाना भएको दुई कोठा बरण्डासहितको घरको लागत प्रतिघर रू पाँच लाख रहेको वडाध्यक्ष राजवंशीले जानकारी दिनुभयो । घर पाउनेहरुमा १० माझी र दुई राजवंशी समुदायका रहेका छन् ।

कार्यक्रममा वडाध्यक्ष राजवंशीले घर निर्माण भए पनि शौचालय र शुद्ध खानेपानीको अभाव भएकाले सोको व्यवस्था गर्न नगरप्रमुखसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा दाता परिवारका तर्फबाट विनय गोयल, भद्रपुर नगरपालिका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, भद्रपुर–४ का वडाध्यक्ष हंशधर राजवंशी, कार्यपालिका सदस्य सन्ध्याकुमारी डंगोल, टोल विकास संस्थाका अध्यक्ष महतलाल राजवंशी लगायतले शुभकामना मन्त्व्य राख्नुभएको थियो ।

कार्यक्रममा भद्रपुर झापा गोल्डपकका अध्यक्ष दिपेश ढकाल, जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठक, सशस्त्र सीमा सुरक्षा प्रमुख फलिन्द्र अधिकारी, कार्यपालिका सदस्य प्रशंसा ठटाल लगायतको आतिथ्य रहेको थियो ।
एकैप्रकारका घर निर्माण हुने सो वस्तीलाई स्व. ओृम गोयल कोलोनी मार्ग नामाकरण गरिएको छ ।

समाजसेवी गोलयले झापा, मोरङ, सुनसरी, इलाम लगायतका विभिन्न स्थानमा शैक्षिक एवम् भौतिक सहयोग गर्दै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *