रोहित काफ्ले, बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा उद्योगी राजेन्द्र राउत चयन भएका छन् ।
आज बिहीबार झापाको बिर्तामोडमा सम्पन्न महासंघको पाँचौँ प्रदेशसभाले राउतलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । विराटनगरका निर्माण व्यवसायी तथा सफल उद्योगी राउत यसअघि एसोसिएट्स उपाध्यक्ष थिए ।
त्यस्तै, जिल्ला/नगर उद्योग वाणिज्य संघतर्फको उपाध्यक्षमा इटहरीका निर्माण व्यवसायी भीमबहादुर पौडेल चयन भएका छन् भने एसोसिएट्स तथा वस्तुगततर्फको उपाध्यक्षमा झापाको कनकाई उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमारमणि पोखरेल र कोषाध्यक्षमा व्यवसायी सुवास आचार्य निर्विरोध चयन भएका छन् । पौडेल यसअघि सोही पदमा थिए भने पोखरेल र आचार्य कार्यकारिणी सदस्य थिए ।
त्यस्तै, जिल्ला/नगर उद्योग वाणिज्य संघतर्फको सदस्यमा प्रकाश शिवाकोटी, ऋषिराज तिम्सिना, ध्रुवलाल श्रेष्ठ, वीरन्द्रकुमार शाह र प्रितम खड्गी भएका छन् भने वस्तुगत सदस्यमा राजन श्रेष्ठ र दिपक पाण्डे तथा एसोसिएट्स सदस्यमा रविनकुमार दाहाल, भविसकुमार श्रेष्ठ र श्रवणकुमार अग्रवाल चयन भएको निर्वाचन समितिले जनाएको छ ।
महासंघमा ३७ जिल्ला नगर, १३ वस्तुगत र १२७ एसोसिएट्स सदस्य छन् ।
सभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकालले गरेका थिए ।
समारोहका प्रमुख अतिथि ढकालले चर्को बैंक ब्याजदरका कारण उद्योगी व्यवसायीहरु ठूलो मारमा परेको बताएका थिए । ढकालले देशको आर्थिक विकासको महत्वपूर्ण इन्जिन निजी क्षेत्र वर्तमान अवस्थामा विविध कारणले निकै अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको जिकिर गरे । उनले समास्य सुल्झाउन सरकारलाई पटकपटक आग्रह गरिएको भए पनि सरकारले उद्योगी–व्यवसायीलाई चित्तबुझ्दो ढंगले समस्या समाधानमा भूमिका निर्वाह गर्न नसकिरहेको उल्लेख गरे ।
सभालाई महासंघका जिल्ला/नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ, एसोसिएट्स उपाध्यक्ष रामचन्द्र संघाई, पूर्व वरिष्ठ उपाध्यक्ष भष्करराज राजकर्णिकार, पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, केन्द्रीय सदस्यहरु उमेश डालमिया उमेश डालमिया, हेमराज ढकाल, अरुण सुमार्गी, नरेन्द्रकुमार खड्का, नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईलगायतले उद्योग–व्यवसायीले वर्तमान अवस्थामा भोग्नु परिरहेको समस्या उजागर गर्दै समाधानका लागि सबे उद्योगी–व्यवसायी एकजुट हुनुपर्ने बताएका थिए ।
बाग्मती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईलगायतले शुभकामना मन्तव्य राख्दै नेपाल उद्योग वाणिज्य महासंघाको आसन्न महाधिवेशनबाट सक्षम नेतृत्व छानिनुपर्नेमा जोड दिएका थिए । उमेशलाल क्षेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघाइले मन्तव्यका क्रममा महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने मनसाय व्यक्त गर्दै सहयोग गर्न उपस्थित उद्योगी–व्यवसायीलाई आग्रह गरेका थिए ।
यस्तै, झापा उद्योग वाणिज्य संघले केन्द्रीय सदस्य पदका लागि सिफारिश गरिएाका उमेश डालमियाले पनि पुनः एकपटक केन्द्रीय सदस्य पदमै आफ्नो उम्मेद्वारी रहने बताउँदै सहयोग गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा महासंघ कोसी प्रदेशका उपाध्यक्ष भीमबहादुर पौडेलले धन्यवाद व्यक्त गरेका थिए भने सदस्य कुमार भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए । समारोहको अध्यक्षता गरेका प्रदेश अध्यक्ष टिकाराज ढकालले स्वागतसहित तीनवर्षे कार्यकालमा कोशी प्रदेश महासंघले गरेका गतिविधिसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।