झापामा तेस्रो साता सहारा हाफ म्याराथन हुने

नेपालकै अग्रणी सहकारी संस्था, झापाको विर्तामोड २, चारपानेस्थित सहारा वचत तथा ऋण सहकारी संस्थाले २८ औँ स्थापना दिवसको अवसर पारेर हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

संस्थाको स्थापना दिवस यही चैत २१ गते पर्ने र सोही दिन २१.०९ किलोमिटर दूरीको खुला हाफ म्याराथन हुन लागेको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

झापा जिल्ला खेलकुद विकास समितिको समन्वयमा संस्थाको अतिरिक्त क्रियाकलाप उपसमितिले प्रतियोगिता आयोजना गरेको हो । खुला हाफ म्याराथन प्रतियोगितामा देशभरिका खेलाडीले सहभागिता जनाउन पाउनेछन् । आर्थिक, शैक्षिक, स्वास्थ्यसँगै खेलकुदलाई पनि प्रोत्साहन गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको संयोजक भेषराज भण्डारीले जानकारी दिए ।

संस्थाको केन्द्रीय कार्यालयबाट सुरु भएको प्रतियोगिता चारपानेचोक–प्रभुचोक–सांगवेद स्कुल–ओमचोक–कुशलचोक–अर्जुनधाराधाम–वरपीपलचोक–मिलडाँडा–प्रगतिटोल–भाङबारी–तामाङचोक–रातेखाल–बिरिङ खोलाको कज्वे–पानीकल–लक्ष्मीपुर हुँदै सहारा साकोस शिक्षा सदनमा पुगेर सम्पन्न हुने झापा जिल्ला खेलकुद विकास समितिका एथलेटिक्स प्रशिक्षक गोपाल गादवले जानकारी दिए । प्रतियोसगतामा जिल्ला खेलकुद विकास समितिले प्राविधिक सहयोग पुर्याउने छ भने सुरक्षा निकायहरुले ट्राफिक व्यवस्थापन तथा सुरक्षा व्यवस्थापनमा सहयोग पुर्याउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *