कार्कीलाई वस्तुगततर्फको केन्द्रीय सदस्यमा नेपाल अलैंची व्यवसायी महासंघको समर्थन

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फको केन्द्रीय सदस्य पदमा उम्मेद्वारी घोषणा गरेका नेपाल कुचो संघका केन्द्रीय अध्यक्ष राजकुमार कार्की (राजु)लाई नेपाल अलैंची व्यसायी महासंघले समर्थन गरेको छ ।
आज विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले कार्किलाई समर्थन र सहयोग गर्ने निर्णय भएको जानकारी दिए । अलैंची व्यवसायी महासंघ नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्य । कार्की अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष हुन् ।

महासंघको नेतृत्वमा आम उद्योगी व्यवसायीको पीर मर्का र पीडा बुझ्ने, उद्योगी– व्यवसायीको अहितमा हुने जुनसुकै निर्णय र क्रियाकलापका विरुद्ध साहस पूर्वक उभिन सक्ने ब्यक्तिको रुपमा पनि कार्कीलाई समर्थन र सहायेग गर्ने निर्णय गरिएको बताए । कार्कीलाई नेपाल कुचो संघले उम्मेद्वार सिफारिश गरेको हो ।

झापामा केन्द्रीय कार्यालय रहेका अदुवा, सुपारी, भेनियर, रबरजस्ता वस्तुगत संघहरुले पनि समर्थन र सहयोग जनाएका कार्किको पक्षमा नेपाल अलैंची व्ववसायी महासंघले जारी गरेको अपिलमा भनिएको छ— ‘नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा र निर्वाचन सदैव राष्ट्रिय रुपमा मात्र होइन अन्तराष्ट्रिय रुपमै पनि चासो, चर्चा र महत्वको विषय बन्ने गर्दछ । आर्थिक रुपमा देश विषम परिस्थितिमा रहेको बेला हुन लागेको महासंघको यसपटकको यो महाधिवेशन अझ महत्वपूर्ण बनेको छ । अतः, महासंघको अबको नेतृत्वमा आम उद्योगी–व्यवसायीको पीर–मर्का र पीडा बुझ्ने, उद्योगी–व्यवसायीको अहितमा हुने जुनसुकै निर्णय र क्रियाकलापका विरुद्ध साहसपूर्वक उभिन सक्ने प्रतिनिधि पुर्याउनुपर्ने आवश्यकता र जिम्मेवारी तपाईं–हाम्रो काँधमा आएको छ । महासंघको साधारणसभा र चुनावी चर्चा चुलिँदै गइरहेको सन्दर्भमा विभिन्न पदहरुमा आकांक्षीहरु सार्वजनिक हुन पनि थालिसक्नुभएको छ । यसै सन्दर्भमा यस नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष, हाल नेपाल कुचो संघका केन्द्रीय अध्यक्ष श्री राजकुमार कार्की (राजु)–ले महासंघमा वस्तुगत संघहरुको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने र मुख्य रुपमा निर्यातको प्रचुर संभावना भएका कृषिवस्तु एवम् कृषि क्षेत्रको सम्बद्र्धनलगायत साना तथा मझौला उद्योग–व्यवसाय र उद्योगी–व्यवसायीको पक्षमा काम गर्ने उत्साहका साथ घोषणा गर्नुभएको छ । एउटा कुशल, संगठक, प्रष्ट वक्ता, सबैखाले उद्योगी–व्यवसायीका समस्या समाधानका लागि अग्रपंक्तिमा उभिने हक्की स्वभावका श्री राजकुमार कार्कीले घोषणा गर्नुभएको उम्मेद्वारीप्रति नेपाल अलैंची व्यवसायी महासंघ सगौरव समर्थन गर्दै निर्वाचनमा वस्तुगततर्फको केन्द्रीय सदस्य पदमा उहाँलाई मतदान गर्ने निर्णय गरेको सहर्ष जानकारी गराउन चाहन्छु । निर्यातजन्य कृषिवस्तुहरु अलैंची, अदुवा, कुचोजस्ता कृषिवस्तुको उत्पादनदेखि आन्तरिक बजारीकरण एवम् निर्यातसम्मलाई सहज तुल्याउन ती वस्तुहरुका उत्पादक, व्यवसायी एवम् नियाृतकर्तासमेतलाई गोलबद्ध गर्दै सम्बन्धित संघहरुको माध्यमबाट एउटै छातामुनि उभ्याउन संस्थापकको भूमिकामा उहाँलाई कृषिजन्य वस्तुगत संघहरुले सम्मान गर्ने गरेका छन् । अर्थात, उहाँ नेपाल अलैंची व्यवसायी महासंघ, नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघ अनि हालै स्थापना भएको नेपाल कुचो संघको संस्थापक पनि हुनुहुन्छ । उद्योगी–व्यवसायीको पक्षमा चट्टान झैं अग्रपंक्तिमा उभिने साहसी एवम् निडर नेतृत्वको छानप छोड्न सफल उहाँको विजयले खासगरी, साना तथा मझौला उद्योगी–व्यवसायी एवम् कृषकवर्गलाई लाभ पुग्ने विश्वासका साथ नेपाल अलैंची व्इवसायी महासंघको कार्यसमतिको बैठकले सर्वसम्मत रुपमा उहाँलाई मतदान गर्ने एवम् उहाँको वियका लागि भूमिका निर्वाह गर्ने निर्णय गरेको हो । उहाँको संस्थाप्रतिको लगाव, समर्पण, क्रियाशीलता एवम् साहसी–स्वाभिमानी व्यवहारप्रति सम्मान दर्शाउँदै वस्तुगततर्फको केन्द्रीय सदस्य पदमा उहाँलाई आफ्नो अमूल्य मत प्रदान गरी अत्यधिक मतले विजयी गराइदिनु हुन सम्पूर्ण वस्तुगत संघहरुमा हार्दिक अपिल पनि गर्दछौं । यही विश्वास लिँदै तपाईंहरुबाट प्रस्ताव गरिने वा गरिएका उम्मेद्वारलाई पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गर्दछौं ।’


पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुवास भट्टराई, सल्लाहकार पवनकुमार बिन्दल, नेपाल सुपारी निर्यात तथा व्यवसायी संघका अध्यक्ष देवीप्रसाद खतिवडा, नेपाल भेनियर उत्पादक संघका अध्यक्ष दीपक पाण्डे, महासंघका महासचिव नारायण चिमरिया, सचिव सुष्मा भण्डारी, कोषाध्यक्ष सुजित वबंशललगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *