राप्रपा भद्रपुरले बुझायो नगरपालिकामा ज्ञापनपत्र

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी भद्रपुर नगर समितिले समसामयिक विषयहरुमा केन्द्रित रहेर भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

राप्रपा जिल्ला कार्यसमिति झापाको निर्णय अनुसार झापाका १५ वटै स्थानीय तहमा ज्ञापनपत्र बुझाउने कार्यक्रमअनुसार आज भद्रपुर नगरसमितिले पनि नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो ।

राप्रपा भद्रपुर नगर समितिका अध्यक्ष राजकुमार राईको नेतृत्वमा नगरपालिका पुगेका पार्टीका नेता तथा कार्यकर्ताहरुले नगरपालिकाका कार्यवाहक प्रमुख राधा कार्की र प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्रलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए ।

१५ बुँदे ज्ञापनपत्रमा किसानहरुको समस्या, भूमिहीन सुकुम्बासीका समस्या, स्वास्थ्य विमा सम्बन्धमा सिर्जना भएको समस्या, बजेट घोषणापछि बजारमा भएको अत्यधिक मूल्यबृद्धि, भयावह बन्दै गएको लागुऔषधको समस्या, प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिले उब्जाएको सीमासम्बन्धी समस्या उजागर गर्दै यी समस्या समाधानमा नगरपालिकाले भूमिका खेल्नुपर्ने उल्लेख छ । राप्रपाले किसान–मजदूरका समस्या, जनजीविका, सुशासन, पारदर्शिता तथा विकास निर्माणलगायत, जनजीविकाका विषयमा नगरपालिकाको ध्यानाकर्षण गराएको नगर अध्यक्ष राईले जानकारी दिए ।

कार्यवाहक प्रमुख कार्कीले ज्ञापनपत्र बुझ्दै ज्ञापनपत्रमा उल्लेखित विषयमा नगरपालिकास्तरबाट समाधान गर्नसकिने समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाउँदै प्रदेश वा संघको तर्फबाट मात्र समाधान हुनसक्ने समस्या समाधानका लागि तत्तत् निकायलाई जानकारी गरी समाधानका लागि पहल गर्ने पनि प्रतिबद्धता जनाइन् ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा केन्द्रीय सहमहामन्त्री भारतेन्दुकुमार मल्लिक, झापा जिल्ला उपाध्यक्ष अभिषेक ढुंगाना, राप्रपा भद्रपुर नगर सञ्चार विभाग संयोजक देवेन्द्र पोखरेललगायत पार्टीका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *