भद्रपुर । झापामा विभिन्न समयमा फरार भएका तीनजना प्रतिवादी एकै दिन पक्राउ परेका छन् ।
सवारी ज्यान, जबरजस्ती करणी र ठगी मुद्दामा फरार रहेका प्रतिवादीहरु बिहीबार एकैदिन पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सवारी ज्यान मुद्दामा फरार दमक नगरपालिका– ७ बस्ने ४५ वर्षीय पवन लिम्बू साँढे ४ वर्षपछि पक्राउ परेका छन् । झापा जिल्ला अदालतको मिति २०७५ असार ५ गते भएको फैसला अनुसार सवारी ज्यान मुद्दामा लिम्बूलाई १ वर्ष ११ महिना ४ दिन कैद सजाय तोकिएको थियो । फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
त्यस्तै जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी दमक नगरपालिका– ३ बस्ने ३६ वर्षीय नगेन राई १२ वर्षपछि पक्राउ परेका छन् । झापा जिल्ला अदालतको मिति २०६७ फागुन १७ गते भएको फैसलाअनुसार जबरजस्ती करणी मुद्दामा राईलाई ११ वर्ष जेल सजाय तोकिएको थियो । फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
त्यस्तै ठगी मुद्दामा फरार रहेका दमक नगरपालिका– ८ बस्ने ४१ वर्षीय वेदप्रसाद सेडाई १० वर्षपछि पक्राउ परेका छन् । झापा जिल्ला अदालतको मिति २०६९ चैत २० गते भएको फैसला अनुसार ठगी मुद्दामा सेडाईलाई ५ दिन कैद र रु १ हजार जरिवाना तोकिएको थियो ।
तीनैजनालाई शुक्रवार अदालतको आदेशबमोजिम जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कायालय झापाले जनाएको छ ।