चन्द्रगढी सामुदायिक वनमा बृहत् बृक्षाराेपण सुरू

झापा । वातावरणसित पर्यापर्यटनलाई जोड्ने र पर्यटन विकास गर्ने उद्देश्यले भद्रपुर ९ र १० मा अवस्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको खाली रहेको १० हेक्टर जमीनमा बृहत् बृक्षारोपण सुरू गरिएको छ ।
राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर आइतबार कोशी प्रदेशकै नमूना बृक्षारोपण सुरू गरिएको हो ।

डिभिजन वन कार्यालय झापाको सहकार्यमा यही असार महिनाभित्र १५ हजार बिरूवा रोप्ने गरी कोशी प्रदेशकै नमूना बृक्षारोपणको शुभारम्भ भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल तथा उपप्रमुख राधा कार्कीले बिरुवा रोपेर गरेका हुन् ।

१५ विगाह जमीनमा आयुर्वेदिक औषधीय गुण भएका दुर्लभ वनस्पतिदेखि वातावरणीय सन्तुलनका लागि महत्व बोकेका बिरूवासम्म रोपिने समूहका अध्यक्ष अनुज खतिवडाले जानकारी दिए । त्यसका लागि डिभिजन वन कार्यालय झापाको १५ लाख ५० हजार तथा वन समूहको २ लाख २५ हजार लागत सहभागितामा रहेको छ ।

खतिवडाका अनुसार श्रीखण्ड, अगरउडजस्ता दुर्लभ वनस्पतिदेखि बडहर, लटहर, बयर जस्ता फल तथा सतिसाल, वीरेन्द्र फूल लगायतका बिरूवा रोपिने छन् ।उनकै अध्यक्षतामा आयोजित शुभारम्भ कार्यक्रममा बृक्षारोपण कार्यक्रम बारे प्रकाश पार्दै डिभिजन वन कार्यालय योजना शाखा प्रमुख रामभगत यादवले तीव्र जनसंख्या वृद्धि भइरहेको झापा जिल्लामा ११।५ प्रतिशत मात्र वन क्षेत्र रहेकाले जनसंख्या अनुपातमा वन क्षेत्रको सन्तुलन मिलाउने सरकारी नीति अनुसार चन्द्रगढी वन क्षेत्रको खाली जग्गामा हरियाली क्षेत्र विस्तारका लागि कोशी प्रदेशकै नमूना वृक्षारोपण कार्यक्रम समेटिएको जानकारी दिए ।

डिभिजन वन कार्यालय झापाका प्रमुख नथुनी गोहियार यादवले हरित पर्यटन विकास तथा पर्यावरणको सुरक्षाका लागि वृक्षारोपण कार्यलाई योजनाबद्ध रूपमा अगाडि बढाइएको भन्दै समूहले ९० प्रतिशत बिरूवा हुर्काउने शर्तमा कार्यक्रम दिइएको जानकारी गराए ।
समूहका उपाध्यक्ष श्रीमननारायण पौडेलले स्वागत गरेको कार्यक्रममा नगर प्रमुख पोखरेल तथा उपप्रमुख कार्कीले वन तथा वातावरण संरक्षणमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताएका थिए ।
समूहकी सचिव कमला थापाले सञ्चालन गरेको कार्यक्रममा वनका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद भट्टराई, हिरा पोखरेल, सामुदायिक वन उपभोक्ता महासंघ, भद्रपुर नगर समितिका संयाेजक जीवन वाँस्ताेलालगायतको सहभागिता थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds

This will close in 0 seconds