झापा । झापा उद्योग संघका नवनिर्वाचित अध्यक्ष शिवकुमार गुप्तालगायत पदाधिकारी–सदस्यहरुले सर्वसम्मत नेतृत्व चयनका लागि भूमिका निर्वाह गर्ने एवम् २७ औँ साधारणसभा तथा अधिवेशन सफल बनाउन योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गरेका छन् ।

यही असार २१ गते संघकै सभाहलमा २७ औँ साधारणसभा तथा अधिवेशन सम्पन्न भएको थियो । सोही दिन संघको विधानअनुसारको निर्वाचन प्रक्रियाद्वारा सर्वसम्मत १५ सदस्यीय कार्यसमिति चयन गरिनुका साथै नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरणसमेत गरिएको थियो ।
पदहस्तान्तरणपछि बसेको नवनिर्वाचित कार्यसमितिको बैठकले आभारसहित धन्यवाद ज्ञापन प्रस्ताव पारित गरेको नवनिर्वाचित महासचिव प्रदीपमणि रेग्मीले जानकारी दिए ।
निर्वाचन प्रक्रियाबाट संघको वरिष्ठ उपाध्यक्षमा दिपेश ढकाल, उद्योग उपाध्यक्षमा दुर्गाप्रसाद भण्डारी, कृषि उपाध्यक्षमा विनयकुमार गोयल, महासचिवमा प्रदीपमणि रेग्मी, सचिवमा तीर्थराज ढकाल र कोषाध्यक्षमा प्रदीपकुमार सरावगी सर्वसम्मत चयन भएका थिए भने सदस्यमा अरविन्द अग्रवाल, सुरेशकुमार अग्रवाल, रमेश पराजुली, विनयराज पोखरेल, निर्मल भट्टराई, धनजुजु श्रेष्ठ, मोहनकुमार मित्तल र आदित्य पराजुली सर्वसम्मत चयन भएका थिए । यसैगरी, विधानतः अजय साहेवाला र उज्जल श्रेष्ठलाई सदस्यमा मनोनित गरिएको थियो ।

संघका अध्यक्ष यमबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित साधारणसभा तथा अधिवेशनको उद्घाटन समारोहका प्रमुख अतिथि सार्क चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले गरेका थिए ।
वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले स्वागत र सञ्चारकर्मी ईश्वर अधिकारीले सञ्चालन गरेको उद्घाटन समारोहमा आन्तरिक उद्योग–व्यवसाय तथा निर्यात व्यवसायमा महत्वपूर्ण योगदान पुर्याउने चारवटा उद्योग, नियमित सदस्यता नविकरण गरी संघको गतिविधिमा योगदान पुर्याउने तीनवटा उद्योगलाई सम्मान गरिएको थियो भने उद्योग–व्यवसायको प्रवद्र्धनका लागि कलम चलाउने सञ्चारकर्मी गोपाल गिरी र रोहित काफ्ले तथा कर्मचारीहरु कार्यालय सचिव सुष्मा शाक्य, कार्यालय सहयोगी राजु दवाडी र सीता दाहाललाईनगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
सम्मानित हुने निर्यातकर्तामा चियातर्फ विनय गोयल, प्लाईउडतर्फ महेश चित्लांगिया र अलैँचीतर्फ निर्मल भट्टराई छन् । त्यसैगरी, उत्कृष्ट सदस्य सम्मानबाट सत्यनारायण तायल, उज्ज्वल श्रेष्ठ सम्मानित भए । त्यस्तै कार्यक्रममा सार्क चेम्बर अफ कमर्सको अध्यक्ष बन्न सफल चण्डीराज ढकाल र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको उपाध्यक्ष मनोनित भएकोमा आदित्य पराजुलीलाई पनि सम्मान गरिएको थियो ।
संघका उपाध्यक्ष शिवकुमार गुप्ताले स्वागत मन्तव्य राखेको समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य उमेश डालमिया, झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार राई , राष्ट्रिय चिया तथा कफी विकास बोर्डका उपाध्यक्ष आदित्य पराजुली, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, उद्योग वाणिज्य संघ कोशी प्रदेशका उपाध्यक्ष ऋषि तिम्सिना लगायतले औद्योगिक सुरक्षा र नीतिगत सुधारका विषयमा आआफ्ना धारणा राखेका थिए ।

संघका अध्यक्ष श्रेष्ठले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रदीपकुमार सरावगीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकाको कार्यक्रमको सञ्चालन पत्रकार ईश्वर अधिकारीले गरेका थिए ।







