जंगली हात्ती नियन्त्रणका लागि बिर्तामोडको नौ किलोमिटर क्षेत्रमा फेन्सिङ

झापा । दिनहुँजसो जंगली हात्तीले दुःख दिन थालेपछि झपाको विर्तामोडमा सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार (फेन्सिङ) निर्माणको काम सुरु भएको छ ।

हात्ती नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले विर्तामोडको वडा नम्बर ६, ७ र ८ मा विद्युतीय तारबार निर्माणको काम सुरु गरेको हो ।

वडा नम्बर ६ को देउनिया पूल दक्षिणदेखि वडा नम्बर ८ को किसनभिट्टासम्मको नौ किलोमिटर क्षेत्रमा तारबार निर्माण हुन लागेको संरक्षण कोषले जनाएको छ । तारबार निर्माण कार्यको विर्तामोड नगरकी प्रमुख पवित्रा महतारा प्रसाईले बिहीबार शिलान्यास गरिन् ।

शिलान्यास समारोहमा नगर प्रमुख प्रसाईले हात्ती नियन्त्रणका लागि विद्युतीय तारबार प्रभावकारी हुने बताइन् । बढ्दो मानवीय र भौतिक क्षति कम गर्नका लागि विद्युतीय तारबार फलदायी हुने अपेक्षा गरिएको बताउँदै नगरप्रमुख प्रसाईंले हात्ती लगायतका वन्यजन्तुको सुरक्षामा पनि सबैको चासो र चिन्ता हुनुपर्ने औं)ल्याइन् । उनले हात्तीका लागि मनपर्ने आहारा व्यवस्थापन गर्न स्थानीय सरकार र सामुदायिक वन उपभोक्ता समितिले मिलेर काम गर्र्ने प्रस्ताव गरिन् ।

एक करोड ३२ लाख रुपैयाँको लागतमा विद्युतीय तारबार निर्माण हुन लागेको राष्ट्रिय प्रकृति संरक्षण कोषका कोशी प्रदेश प्रमुख वीरेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार २०८१ जेठ १८ मा सुरु भई कात्तिक २९ मा सक्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनी फुङफुङ्गे शैलेश्वरीले दुई महिना ढिलो गरी काम सुरु गरेको हो ।

हात्ती नियन्त्रणका लागि सुरुमा बाहुनडाँगीको १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार निर्माण गरिएको थियो । अहिलेसम्म झापाको जलथल र चारआली क्षेत्रमा समेत गरी ७६ किलोमिटरमा विद्युतीय तारबार निर्माण भइसकेको छ ।

कोषले विद्युतीय निर्माणपछि डिभिजन वन कार्यालयलाई स्वामित्व हस्तान्तरण गर्दै आएको छ भने डिभिजनमार्फत सामुदायिक वनले संरक्षणको जिम्मेवारी पाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *