भद्रपुरमा विद्यार्थीलाई ल्यापटप र छात्रबृत्ति, सेवा निवृत्त शिक्षकलाई सम्मान

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर झापाको भद्रपुर नगरपालिकाले नगरका सर्वोत्कृष्ट दुईजना विद्यार्थीलाई ल्यापटप, दर्जनबढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान तथा सेवानिवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ ।

नगर शिक्षा, युवा तथा खेलकुद शाखाले आज अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप, कक्षा ८ को परीक्षामा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीलाई छात्रवृत्ति र सेवा निवृत्त शिक्षकलाई सम्मान गरेको हो ।

भद्रपुर–६ स्थित कृष्ण द्वैपायन वेद विद्याश्रम गुरुकुलको सभाहलमा आयोजित समारोहमा २०८० सालको एसइई परीक्षामा भद्रपुर क्षेत्रबाट सामुदायिक विद्यालयतर्फ ३.८३ जीपीए ल्याउने वीरेन्द्र माविका छात्र समृद्ध गुरागाईँ र ३.८२ जीपीए ल्याउने वीरेन्द्र माविकी छात्रा सिमरन दाहाललाई एक÷एक थान ल्यापटप वितरण गरिएको थियो । नगरपालिकाले विद्यार्थीलाई ल्यापटप वितरण गरेको यो तेस्रो पटक हो ।

त्यस्तै कक्षा ८ को परीक्षामा सामुदायिकतर्फ उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरू सरस्वती माविका प्रज्ञान कोइराला, दीपा चम्लागाई, प्रतिष्ठा फुयाँल, सन्जना घिमिरे, अरनिको माविकी श्रेयस्कर खरेल, प्रतिभा सुवेदी, वीरेन्द्र माविका शशाङ्क न्यौपाने र सिद्धि सिंहलाई छात्रवृत्ति प्रदान गरियो ।

त्यसैगरी संस्थागततर्फ एमरेल्ड एकाडेमीका आदित्यराज खरेल, विभूति विद्या मन्दिरका श्वरुपराज भट्टराई, श्रेया ढकाल, ग्यालेक्सी इङ्लिस स्कूलका सृजन तामाङ, ऋतिका राजवंशी, एसएस निकेतनका रिदेक पोखरेल, सिद्धार्थ स्कूलका सालिन राई, उत्सव ढकाल, साहिली चौधरी, नेशनल मेरिगोल्डकी शुभेच्छा भण्डारी र प्रज्ञा एकाडेमीकी समृद्धि दाहाललाई छात्रवृत्ति प्रदान गरियो ।

त्यस्तै सेवा निवृत्त शिक्षकहरू जनकल्याण आधारभूत विद्यालयका बालानाथ रेग्मी, श्री आधारभूत विद्यालयका भक्तबहादुर प्रधान, मेची आधारभूत विद्यालयका गोपाल रिजाल, भृकुटी प्राविका प्रेमप्रसाद भट्टराई, हिमाली माविका मधुसूदन न्यौपाने, वीरेन्द्र माविकी कल्पना पोखरेल, चन्द्रभानु ज्योति माविकी रिनाकुमारी सुब्बा, महेशपुर आधारभूत विद्यालयका नारद प्याकुरेल र कलवलगुडी आधारभूत विद्यालयकी कल्पना पोखरेल राउतलाई दोसल्ला ओढाएर प्रशंसापत्रले सम्मान गरिएको थियो । व्यवस्थापन समितिको अध्यक्ष भई दीर्घ सेवा गरेबापत खगेन्द्र लम्साल र युवा लक्षित ब्युटी पार्लर तालिम प्रशिक्षक सुशीला कार्की पौडेललाई समेत कदरपत्र प्रदान गरिएको थियो ।

सम्मानित तथा पुरस्कृत हुने शिक्षक तथा विद्यार्थीहरूलाई नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, शिक्षा शाखाका प्रमुख पवित्रा ढकाल लगायतले सम्मान पत्र तथा नगद हस्तान्तरण गरेका थिए । कार्यक्रममा नगर प्रमुख पोखरेल, उपप्रमुख कार्की, सामाजिक विकास समितिकी संयोजक सीता गुरागाईँ, नेपाल शिक्षक महासंघका अध्यक्ष पुरुषोत्तम खरेल, सेवा निवृत्त शिक्षक नारद प्याकुरेलले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षा शाखाका कर्मचारी योगेन्द्र पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *