भद्रपुर रनको तयारी तीव्र, चौथोसम्मको पुरस्कारका लागि भद्रपुरको वासिन्दा अनिवार्य

झापा। झापाको सदरमुकाम रहेको भद्रपुरमा बडादशैंको अवसर पारेर गरिन लागेको भद्रपुर रनको तयारी तीव्र पारिएको छ ।
भद्रपुर नगरपालिका वडा नं ८ को अगुवाइमा यही असोज १७ गते घटस्थापनाका दिन आयोजना गर्न लागिएको भद्रपुर रनको तयारी बारे आज वडा नं ८ को कार्यालयमा आयाजित पत्रकार सम्मेलनमा भद्रपुर रनको तयारी बारे जानकारी दिइएको हो ।
यस पटक भद्रपुरभन्दा बाहिरका खेलाडीले चौथो स्थानसम्मको विजेता भए पनि पुरस्कार नपाउने भएका छन् । आयोजक समितिले पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार रनमा जोसुकैले भाग लिए पनि चौथो स्थानसम्मको पुरस्कार जित्न भद्रपुरकै बासिन्दा हुनुपर्ने नियम तय गरिएको छ ।

महिलाका लागि ६.१ किमि र पुरूषका लागि ८.८ किमी दौडनुपर्ने रूट तय गरिएको छ । भद्रपुर ८ नम्वर वडा कार्यालय मूल आयोजक रहेको भद्रपुर रनमा महिला र पुरूषका लागि समान पुरस्कार प्रथम हुनेले नगद ३१ हजार र प्रमाणपत्र पाउनेछन् भने दोस्रो हुनेले २१ हजार, तेस्रो हुनेले ११ हजार, चौथो हुनेले ५ हजार, पाँचौँ हनेले २ हजार तथा छैठौँदेखि १० औंसम्मले नगद एक हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिता भएको दिन प्रथमदेखि चौथोसम्म स्थान प्राप्त गर्ने खेलाडीले डमी चेक प्राप्त गर्ने छन् भने प्रतियोगिता सम्पन्न भएको तेस्रो दिनभित्रमा भद्रपुरको बासिन्दा भएको प्रमाण पेश गरे तोकिएको नगद पुरस्कार पाउने प्रावधान रहेको आयोजकको भनाइ छ ।

प्रथम पटक २०७६ सालमा भद्रपुर रन आयोजना भएको भए पनि विभिन्न कारणले रोकिएको रन अब हरेक वर्ष घटस्थापनाकै दिन सम्पन्न गर्ने गरी कोष खडा गरेरै अगाडि बढिएको आयोजक समितिका संयोजक तथा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा ‘मनोज’ले जानकारी दिए ।

संयोजक सुब्बाका अनुसार रनमा १० लाख खर्च हुने अनुमान छ भने खर्चको स्रोत विभिन्न दाताको स्वेच्छिक सहयोग रहेको छ । वडा कार्यालय मूल आयोजक भए पनि वडाको रकम खेलमा खर्च नगरिने जनाइएको छ ।यस वर्षको भद्रपुर रनको नारा ‘दुव्र्यसनमुक्त समाजका लागि भद्रपुर रन’ भन्ने तय भएको बताइएको छ । सो दिन विभिन्न झाँकीहरुसमेत प्रदर्शन गरिने वडाध्यक्ष सुब्बाले जानकारी दिए । पत्रकार सम्मेलनको सअजीकरण सञ्चारकर्मी गोपाल गिरी र भद्रपुर रनका स्वास्थ्य संयोजक केदार महतले गरेका थिए ।

असोज १७ गते फूलपातीका दिन विहान ७ बजे भद्रपुर ८ सगरमाथा चोकबाट शुरू हुने रन दक्षिण संगम चौक हुँदै पूर्व जनता चौकबाट उत्तर घोडामारा हुँदै पश्चिम कारागारबाट जिल्ला प्रशासन हुँदै मेची रङ्गशालादक्षिणबाट पुनः सगरमाथा चोकमा आएर समापन हुनेछ ।


यसैबीच, वडा नं ८ ले प्रेस क्लव भद्रपुरलाई फुटबल जर्सी उपलब्ध गराएको छ । झापाको बुद्धशान्तिमा बुद्धशान्ति प्रेस क्लवले आयोजना गर्न लागेको मिडिया कपमा सहभागिता जनाउने प्रेस क्लव भद्रपुरको टिमलाई जर्सी उपलब्ध गराएको हो । वडाध्यक्ष गौरव सुब्बा ‘मनोज’ले प्रेस क्लव भद्रपुरका अध्यक्ष राजबाबु शंकरलाई १८ सेट जर्सी हस्तान्तरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *