झापामा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी पूरा ः पूर्व राष्ट्रपति भण्डारीबाट उद्घाटन

झापा । झापाको विर्तामोडमा हुन लागेको कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी पूरा भएको छ ।

नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले यही जेठ २४, २५ र २६ गते विर्तामोडको देवी माध्यमिक विद्यालयमा उक्त प्रदर्शनीको आयोजना गरेको छ ।

आयोजकले हिजो विर्तामोडमा पत्रकार सम्मेलन गरी प्रदर्शनीको तयारी बारे जानकारी दिएको हो ।

जेठ २४ गते पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागका अध्यक्ष गणेश पोखरेलले बताउनु भयो । अन्य सबैखाले तयारी पूरा भएको पोखरेलले जानकारी दिए ।

प्रदर्शनी प्रतियोगितात्मक हुने र विद्यार्थीले बनाएका विज्ञानका सामग्रीलाई प्रदर्शनीमा राखिने छ । अहिलेसम्ममा १२ जिल्लाका ७० वटा विद्यालयले प्रदर्शनीमा भाग लिने टुंगो गरिसकेको पोखरेलले बताए । प्रतियोगितात्मक प्रदर्शनी, अप्रतियोगी प्रदर्शनी एवम् स्वयम्सेवी संस्थाहरुको गरी १२५ वटा स्टल तयार गरिएको पोखरेलले बताए । कोशी प्रदेशका १४ मध्ये १२ वटा जिल्लाबाट सहभागिताका लागि सुनिश्चित भएको र झापाका ३९६ वटा माध्यमिक विद्यालयलाई पत्राचार नै गरिएको जनाइएको छ ।

प्रदर्शनीमा प्रथम हुने विद्यालयले रु. पाँच लाख, दोस्रो हुनेले रु. तीन लाख, तेस्रो हुनेले रु. दुई लाख र सान्त्वना हुनेले रु. एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रदर्शनी सम्पन्न गर्न ४४ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ ।

पत्रकार सम्मेलनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेश इञ्चार्ज शेरधन राईले पार्टीले मुलुकमै पहिलोपल्ट आयोजना गरेको प्रदर्शनी ऐतिहासिक हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *