झापा । नेपाल बाल संगठनले बाल संगठन तदर्थ समिति झापाको सभापतिमा भद्रपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठलाई चयन गरेको छ ।
नेपाल बाल संगठनको केन्द्रीय कार्य समितिको २०८२ असार ४ गतेको निर्णयले संगठनको विधान २०४९ बमोजिम श्रेष्ठलाई तदर्थ जिल्ला कार्यसमिति झापाको सभापति पदमा मनोनयन गरेको हो। तदर्थ समितिका सभापति श्रेष्ठलाई सदस्य थप गरी कार्य विभाजन गर्न, सदस्यता विस्तार गर्न र ३ महिनाभित्र जिल्ला सभाको अधिवेशन गरी जिल्ला कार्यसमिति गठन गर्ने जिम्मेवारी प्रदान गरिएको छ । श्रेष्ठ भद्रपुर साइकल समाजका अध्यक्ष तथा भद्रपुर झापा गोल्डकपका महासचिव हुन् ।
संगठनले श्रेष्ठलाई पठाएको पत्रमा, बाल संगठन र बाल मन्दिरको नाममा रहेको चलअचल सम्पत्तिको व्यवस्थापन र उचित संरक्षण गर्न तथा संरक्षणविहीन बालबालिकालाई संरक्षकत्व प्रदान गर्दै बाल हितका कार्यमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको जनाइएको छ ।
अनाथ र असहाय बालबालिकाको संरक्षणका लागि वि. सं. २०२१ सालमा स्थापना भएको बाल संगठनका ६८ जिल्लामा कार्यालय छन् ।
झापामा बाल मन्दिरका नाममा ८ बिघा जमिन र आफ्नै भवन छ । भद्रपुर नगरपालिका–८ स्थित बाल मन्दिर विद्यालयको भवनमा २०६५ देखि जिल्ला शिक्षा कार्यालयअन्तर्गतको बाल विकास केन्द्र सञ्चालनमा छ । न्यून सङ्ख्यामा रहेका त्यहाँका बालबालिकालाई सामुदायिक विद्यालयमा सञ्चालित बाल कक्षासरहको हेरचाह गर्ने र खाजा दिने गरिएको छ ।