झापा । झापाको भद्रपुर नगरपालिका–९ प्रणामी टोलस्थित ग्यालेक्सी इङ्लिस स्कूलले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)–मा भद्रपुर नगरमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । ग्यालेक्सीबाट एसईईमा सहभागी २३ जनामध्ये २१ जना अर्थात् ९२ प्रतिशत उत्तीर्ण भएकोमा यसै शैक्षिक सत्रबाट कक्षा ११ पनि सञ्चालन गर्न लागिएको हो । ग्यालेक्सीले कक्षा ११ मा कम्प्युटर साइन्स तथा बिजनेस स्टडिज विषय सञ्चालन गर्न लागेको विद्यालयका भाइस प्रिन्सिपल विवेक चम्लागाईंले जानकारी दिए ।
विद्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरी सो बारेमा जानकारी गराउँदै एसईईमा नगरमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको अवसरमा ग्रेडेड विद्यार्थीहरूलाई सम्मान गर्नुका साथै एक वर्ष निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको जनाइएको छ । त्यस्तै कक्षा ५ को परीक्षामा ४० जना र कक्षा ८ को परीक्षामा २२ जनाले उत्कृष्ट नतिजा ल्याउँदै शतप्रतिशत उत्तीर्ण भएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमल अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालकहरू सुनिल घिमिरे, देव गोयल, रौनक वंशलगायतले विद्यार्थीहरूलाई सम्मान गरेका थिए । विद्यालयका शिक्षक देवीप्रसाद सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका भाइस प्रिन्सिपल विवेक चम्लागाईंले गरेका थिए ।
२०६८ सालमा स्थापना भएको स्कुललाई विश्वव्यापी विद्यालयको मापदण्डमा अग्रसर गर्दै भद्रपुर(९ मा पर्याप्त क्षेत्रको व्यवस्थापन गरी, विद्यार्थी निहित फरक प्रतिभालाई अभ्यास गराउन फराकिला खेलमैदान, खेल प्रशिक्षक, नृत्य सङ्गीत कक्षा, बालमैत्री कक्षाकोठा र समयसापेक्ष प्रविधिको प्रयोगको साथ व्यवस्थापन गरी, गुणस्तरीय शिक्षा र जीवनोपयोगी सीप प्रदान गर्दै आइरहेको विद्यालयका सञ्चालक सुनिल घिमिरेले बताए ।