झापाको भद्रपुर नगरपालिकाको वडा नं १० र ९ मा पर्ने चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहमा चुनावी सरगर्मी बढेको छ । विभिन्न पदमा उम्मेद्वारी दिएका उम्मेद्वारहरुले आफ्ना भावी कार्ययोजनासहितका प्रतिवद्धताहरु सार्वजनिक गर्दै आएका छन् । यसैक्रममा अध्यक्ष पदका दाबेदार अनुज खतिवडाले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । लामो समयदेखि वनको पदीय जिम्मेवारीहरु कुशलतापूर्वक निर्वाह गरेका हालका कोषाध्यक्ष खतिवडाका प्रतिबद्धता यस्ता छन् —
– जंगली जनवारहरु गाउँवस्तीमा प्रवेश गरी हुने हानि–नोक्सानी नियन्त्रण गर्न नेपाल सरकारसँग विशेष पहल गरी सोलार फेन्सिङ्गको व्यवस्था गर्ने र जंगली जनावरहरुबाट हुने क्षतिको लागि एक वन्यजन्तु राहत कोष स्थापना गरी उपभोक्ताहरुलाई तत्काल राहत उपलब्ध गराउने ।
– यस वन समूहले निर्माण गरिरहेको सिमसारका बकी काम तत्काल सुरु गरी पर्यटकहरुको आकर्षणको केन्द्रको रुपमा विकास गर्न र बाल उद्यान २०८३ वैशाख १ गतेबाट सञ्चलनमा ल्याउने ।
– जेन्जी पुस्तासँग समन्वय गरी समाज परिर्वतनका लागि विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्ने ।
– चन्द्रगढ मोक्षघाट (झोलुङ्गे पूल) निर्माण कार्य सुचारु गर्न तत्काल पहल गर्ने ।
– दाहसंस्कारका लागि आवश्यक दाउरा निःशुल्क उपलब्ध गराउने ।
– यस वन क्षेत्रभित्र रहेको ऐतिहासिक पुरातात्विक महत्वको चन्द्रगढ पर्यटकीय क्षेत्रको रेखदेख र व्यवस्थापन गर्न स्थानीय उपभोक्ताको एक समिति निर्र्माण गरी वार्षिक वजेटको व्यवस्था मिलाई चन्द्रगढमा सरसफाई गरी वर्षभरि नै पर्यटकको आगमन हुने व्यवस्था मिलाउन र हाल नेपाल सरकारबाट विनियोजित रकमको तत्काल लगत इस्टिमेट तयार गरी काम अगाडि बढाइने।
– यस वन समूहको पहलमा निर्माणाधीन वनपथ पशुपति सिमेन्ट उद्योगदेखि नहर टोलसम्मको बाटो निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने र फायरलाइनदेखि सुन्दर निचाझोडा वनसम्मको वनपथको स्तरउन्नति गर्ने ।
– विभिन्न संघ–संस्थाहरुसँगको सहकार्यमा एक खेल मैदान निर्माण गर्ने र विभिन्न प्रकारका (फुटबल, भलिबल, क्रिकेट, कबड्डी, कराते, ते–क्वान्दो, हकी) खेलकुदका गतिविधि वर्षभरि नै सञ्चालन गर्ने ।
– यस वन समूहको क्षेत्रभित्र हकी खेलका राष्ट्रिय खेलाडी धेरै रहेकोले राष्ट्रिय खेलाडीहरुसँगको समन्वयमा हकी खेलको विस्तार र विकास गर्ने र आवश्यक खेलकुद सामाग्रीहरु वितरण तथा सहयोग गर्ने ।
– हडिया कृषक कुलो र सेती पैनी कुलोलाई व्यवस्थित सञ्चालन गर्न आवश्यक सहकार्य गर्ने ।
– यस वनक्षेत्रको खाली तथा पर्ति जग्गाहरुमा बृक्षारोपण गरी हराभरा बनाउने व्यवस्था मिलाउन र जंगली वन्यजन्तुका लागि आहारको रुपमा रहेका विरुवाहरुको रोपण गरी मानव वस्ती तथा अन्न बालीको विनाश नियन्त्रणका लागि उचित पहल गर्ने ।
– ए आर्इ अनुदान कार्यक्रम हाल ५०–५० रहेकोमा सो अनुदान कार्यक्रम ८०–२० गर्ने ।
– यस वन क्षेत्रको निश्चित क्षेत्रहरुमा सरसफाई गरी उल्टा काँडा झिक्ने कार्यको प्रारम्भ गर्ने ।
– उपभोक्ताको जीवन स्तरीकरण कार्यक्रमअनुसार विजुली, खानेपानी, सुत्ने खाट नभएका उपभोक्ताहरुमा साझेदारीमा विद्युत विस्तार, खानेपानी विस्तार, खाट वितरण कार्यक्रम सञ्चालन गर्ने ।
– प्लाष्टिक टनेल वितरण ७०–३० कार्यक्रम सञ्चालन गरी उपभोक्तालाई कृषि उत्पादन बृद्धि गर्न मिनी किट वितरण गर्ने ।
– गरिबी न्यूनीकरण तथा महिला सशक्तीकरणअन्तर्गतका विभिन्न शीपमूलक कार्यक्रम सञ्चालन गरी उपभोक्तालाई आत्मनिर्भर बनाउने ।
