झापा । मानवता, सेवा र सम्मानको अनुपम उदाहरण प्रस्तुत गर्दै झापाको भद्रपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष हेमबहादुर कार्की (सन्तु)–ले आफ्नै व्यक्तिगत खर्चमा वडाका ज्येष्ठ नागरिकहरूलाई तीर्थाटन गराएका छन् ।
वडाध्यक्ष कार्कीले आज वडाका १२० जना ज्येष्ठ मातापितालाई सुनसरीको धरानस्थित धार्मिकस्थल बराह क्षेत्र र पर्यटकीयस्थल श्रम संस्कृति पार्कमा भ्रमणमा लगेका हुन् ।
२०७९ सालमा वडाध्यक्षमा निर्वाचित भएयता वडाध्यक्ष कार्कीले आफूले पाउने तलब तथा भत्तालगायतका सेवा–सुविधाबाट वडाका जेष्ठ नागरिकहरुलाई तीर्थाटन गराउँदै आएका छन् ।
‘निर्वाचित भएयता बर्षेनि मैले पाउने सेवा–सुविधाबाट वडाका ज्येष्ठ मातापितालाई धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गराउने गरेको छु’, वडाध्यक्ष कार्कीले भने– ‘ज्येष्ठ मातापितालाई भ्रमण गराउँदा मलाई धेरै खुशी लाग्छ, यो नै सबैभन्दा ठूलो धर्म हो ।’ वडाका ज्येष्ठ मातापितालाई भ्रमणमा लगेको यो चौथो वर्ष भएको उनले बताए ।
वडाध्यक्षको व्यक्तिगत गाडीसहित चारवटा सवारी साधनमा उनीहरुलाई भ्रमणमा लगिएको वडा सदस्य रीना थापा मगरले जानकारी दिइन् ।
ज्येष्ठ मातापिताको स्वास्थ्यमा आउनसक्ने समस्यालाई मध्यनजर गर्दै भ्रमणमा स्वास्थ्यकर्मीको टोलीसमेत रहेको वडाध्यक्ष कार्कीले बताए ।

जीवनको उत्तराद्र्धमा पुगेका बृद्धबृद्धाका लागि यो यात्रा केवल भ्रमण मात्र नभई भावनात्मक सम्बन्ध र र आध्यात्मिक शान्तिको माध्यम पनि बनेको छ ।
वडा नं ३ का धेरै ज्येष्ठ नागरिक आर्थिक अभावका कारण लामो समयदेखि तीर्थ जाने चाहना मनमै थामेर बसेका थिए । तर, वडाध्यक्ष कार्कीको यस पहलले उनीहरूको त्यो अधुरो सपना साकार भएको छ । बसमा सवार हुँदै तीर्थयात्रामा निस्कँदा बृद्धबृद्धाहरूका आँखामा खुशीका आँसु झल्किन्थे ।
तीर्थाटनका क्रममा उनीहरूलाई यातायात, खानपानलगायतका आवश्यक सम्पूर्ण व्यवस्था वडाध्यक्ष कार्कीले आफ्नै खर्चमा मिलाएका छन् । यसले उनीहरूको सेवाभाव र जिम्मेवारीप्रतिको प्रतिबद्धता स्पष्ट देखाउँछ । यात्रामा सहभागी एक ज्येष्ठ नागरिकले भावुक हुँदै भने– ‘हामीले जीवनभर धेरै दुःख देख्यौँ, तर यस्तो सम्मान कहिल्यै पाएका थिएनौँ । आज भगवानको दर्शनसँगै मन पनि निकै हलुका भयो ।’
यस कार्यले समाजमा सकारात्मक सन्देश दिएको छ— ज्येष्ठ नागरिकहरू केवल परिवारका होइनन्, समाजका पनि अमूल्य धरोहर हुन् । उनीहरूको सम्मान र हेरचाह गर्नु सबैको कर्तव्य हो ।
स्थानीय बासिन्दाहरूले वडाध्यक्ष कार्कीको यस कार्यको खुलेर प्रशंसा गरेका छन् । वडाध्यक्ष कार्की भन्छन्– ‘ज्येष्ठ नागरिकहरू हाम्रो इतिहास र अनुभवका भण्डार हुन्, उनीहरूको सेवा गर्नु नै साँचो धर्म हो ।’
